राप्रपाका बिक्रम पाण्डेको सांसद पद धरापमा

हाम्रो सन्देश संवाददाता

१८ पुस, काठमाडौं ।

राप्रपाका सांसद बिक्रम पाण्डेवि’रुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा सर्वाेच्चमा पुनरावलोकन गरेको छ । सिक्टा सिंचाई भ्रष्टाचार प्रकरणमा मुद्दा पुनरावलोकन भएको हो ।सो मुद्दामा उनी लगायत सबैलाई बिशेष अदालतले सफाई दिएको हो । भ्रष्टाचार भएको पर्याप्त प्रमाणलाई नजरअन्दाज गरी सफाइ दिइएको भन्दै अख्तियार सर्वोच्च पुगेको हो ।

सिक्टा सिचाईमा दुई अर्ब १३ करोड ७६ लाख भ्रष्टाचार भएको दाबीसहित बिशेष अदालतमा मुद्दा परेकोमा गत ५ असारमा सफाइ दिएको हो । मुद्दामा सफाइ पाएपछि उनी गत मंसिरको चुनाव लड्न पाएका थिए । चितवन ३ बाट विजयी समेत भए । सर्वाेच्चमा मुद्दा गएपछि उनको पद के हुन्छ भन्ने अन्योल देखिएको छ ।

यो पनि : उपमहासचिव पुन भन्छन्- मन्त्री नबनेर पार्टी सुदृढीकरणमा लाग्छु

काठमाडौं, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मन्त्री नबनेर पार्टी सुदृढीकरणमा लाग्ने बताएका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सफल बनाउन लाग्ने र पार्टीको संगठन सुदृढकरणमा भूमिका खेल्ने बताए ।

एमालेसँग गठबन्धन गरेर सरकार निर्माणमा भूमिका खेलेका नेता पुनले मन्त्री नभएरै पनि काम गर्न सकिन्छ भन्ने आफूलाई लागेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउँदा मन्त्रिपरिषद्मा मर्याक्रम नमिलेकोमा नेता पुन असन्तुष्ट रहेको बताइएको थियो ।

तर उनले भने त्यस्तो नभएको जिकिर गरका छन् । पुनले राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना सरकारको पहिलो प्राथमिकता भएको बताए ।

यो पनि : प्रदेश १ काे मुख्यमन्त्री एमालेका हिक्मत कार्की निश्चित

विराटनगर, प्रदेश १ मा एक सातामा नयाँ सरकार बन्ने भएकाे छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेसँगै सरकार गठनको बाटो खुल्ला भएको हो । आइतबार प्रदेश प्रमुख खापुङले सरकार गठनको लागि आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न खापुङले आग्रह गरेका छन् । संविधानको धारा १७८ को उपधारा (१) अनुसार कुनै पनि राजनैतिक दलको बहुमत नभएकाले उपधारा २ बमोजिम सरकार गठन हुने भएको छ ।

आइतबार जारी विज्ञप्तिमा ‘प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्युबाट आह्वान भएको छ,’ पत्रमा उल्लेख छ ।

प्रदेश १ मा सत्तारुढ गठबन्धन अन्तर्गत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार बन्ने प्रस्ट भएको छ । प्रदेश १ मा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सिट छ । प्रदेशमा जम्मा ९३ सांसद छन् । सरकार गठनका लागि ४७ सिट आवश्यक पर्छ ।

नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्ने अन्तिम तयारीमा रहेका सत्तारुढ दलहरू बाँकी मन्त्रालय र सभामुख उपसभामुखको भागबन्डाको तयारीमा छन् । एमालेको तर्फबाट हिक्मत कुमार कार्की मुख्यमन्त्री बन्ने भएका छन् ।