पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

हाम्रो सन्देश संवाददाता

१७ पुस, काठमाडौं ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ ।

सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरू भएको अवसर पारेर उक्त विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो । उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर, अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

आज बिहान पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जहाजका पाइलटलगायतलाई पनि फूलमालाले स्वागत गर्ने कार्यक्रम छ । अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा भइनसकेकोले आइतबार आन्तरिक उडान मात्र हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।

चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनाइएको थियो । खुसियालीमा आज पोखरा महानगरले सार्वजनिक बिदा घोषणा गरेको छ ।

पुरानो विमानस्थल पनि सञ्चालनमै

पोखरास्थित पुरानो विमानस्थलमा पनि उडान रोकिने छैन । ठूला जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे पनि साना जहाज पुरानो विमानस्थलमा अवतरण गर्न पाउँछन् ।

मुस्ताङको जोमसोम र मनाङको हुम्देमा पुरानो विमानस्थलबाटै उडान हुनेछ भने हेलिकप्टर पनि पुरानो विमानस्थलबाटै उडान तथा अवतरण गर्ने बताइएको छ ।

इलाका प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न
पाँचथरको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको उक्त भवनको शनिबार आयोजित कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले उद्घाटन गर्नुभयो । रु एक करोड ८३ लाख ८८ हजारको लागतमा निर्माण सम्पन्न उक्त भवनमा १५ वटा कोठा छन् । सो अवसरमा प्रहरी नायब महानिरीक्षक गिरीले भौतिक संरचनाका अभावमा कार्यसम्पादनमा हुने गरेका समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

विसं २०७७ असार ३१ गते शिलान्यास गरिएको उक्त भवन अढाइतले हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माण भएको सहित यस स्थानमा इलाका प्रहरी कार्यालयको पाँच रोपनी जमिन रहेको छ । भवनबाट कार्यालय सञ्चालन तथा ब्यारेकमा उपयोग हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने हिलिहाङ गाउँपालिका, स्थानीय समाजसेवी भवानीप्रसाद लिङदेन तथा भवन निर्माण गर्ने निर्माण कम्पनी एसएएस कन्स्ट्रक्सनका शैलेन्द्रकुमार कुरुम्बाङलाई प्रशंसापत्रसहित सम्मानसमेत गरिएको थियो । कार्यक्रममा १ नं प्रदेश प्रहरी कार्यालयका भौतिक पूर्वाधार शाखाका प्रमुख प्रहरी उपरीक्षक इञ्जीनियर अनिल रानाले भवन निर्माण तथा प्रहरीका भौतिक संरचना निर्माणसम्बन्धी प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।