रेनु दाहाल बालबालिकालाई न्यानो कपडा बाँडन पुगिन्

हाम्रो सन्देश संवाददाता

१५ पुस, काठमाडौं ।

भरतपुर महानगरपालिले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको छ । बालबालिकासँग मेयर कार्यक्रममार्फत गरिव, विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकालाई स्कुल जादा आउदा लगाउने ट्रयाक सुट, टोपी उपलब्ध गराइएको हो । मेयर रेनु दाहाल स्वयम उपस्थित भएर बालबालिकालाई न्यानो कपडा लगाइदिएकी थिइन् । मेयर दाहालले चिसो मौसममा समेत अध्ययन गर्न सहजताका लागि न्यानो कपडा वितरण गरिएको बताइन् ।

मेयर दाहाल भरतपुर–२८ को आधारभूत विद्यालय सिसाबास, वडा नम्बर २६ को नारायणी आधारभूत विद्यालय खयरघारीमा सहभागि बनिन् । सिसाबासमा १ सय ९० जना, खयरघारीमा ६० जना विद्यार्थीले न्यानो कपडा पाए । “सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन लाग्नुपर्नेछ”, उनले भनिन्, “तपाईहरु विद्यार्थी संख्या बढाउन लाग्नुस्, आवश्यक पूर्वाधार र जनशक्ति विकासमा हामी लाग्नेछौँ ।” उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्न महानगर लागिपर्ने बताइन् ।

महानगरले पहिलो चरणमा राप्ती र नारायणी तटीय क्षेत्रका सामुुदायिक विद्यालयमा बालविकास देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा बाँडेको हो । महानगरले आज (बिहीबार) ९ सय ८६ जना विद्यार्थीलाई सहयोग गरेको सहयोग गरेको छ ।

भरतपुर–६ को देवज्योति आधारभूत विद्यालयका १ सय १४ जना, वडा नम्बर १३ को आधारभूत विद्यालय ब्रहमपुरीका ५८ जना, वडा नम्बर १७ को आधारभूत विद्यालय लगौटाका १ सय २२ जना, १८ को आधारभूत विद्यालय भवनवस्तीका १ सय १३ जना विद्यार्थीले न्यानो कपडा पाए । यस्तै वडा नम्बर २१ को आधारभूत विद्यालय रंगीलाका ८९ जना, आधारभूत विद्यालय सीतापुरका ३४ जना विद्यार्थीले न्यानो कपडा पाए । यस्तै वडा नम्बर २३ को आधारभूत विद्यालय घैलाघारी, वडा नम्बर २६ को जनमासिंह आधारभूत विद्यालयका ५० जना, वडा नम्बर २७ को

काजिमान आधारभूत विद्यालयका ८४ जनाले न्यानो कपडा सहयोग पाएका छन् । भरतपुर महानगरभित्र १ सय १६ वटा सामुदायिक विद्यालय छन् भने ९७ वटा संस्थागत विद्यालय छन् । ७३ वटा आधारभूत तहका विद्यालय छन् । महानगरले विगत ४ वर्षदेखि विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्दै आएको छ । महानगरले छात्राहरुलाई साइकल समेत वितरण गरिसकेको छ ।