१५ पुस, काठमाडौं ।
लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार हुमागाई मंसिर ४ गतेको निर्वाचनमा काभ्रेपलाञ्चोक १ बाट पराजित भएपछि मतदातालाई धन्यवाद व्यक्त गर्नमा ब्यस्त छन् ।
सोही सिलसिलामा मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ मा पुग्दा शुभकामनाको निम्ति बसेको टोलीका प्रमुख तथा नेपाली काँग्रेस १२ नम्बर वडा समितिका सभापति ज्ञानेन्द्र पराजुली हुमागाईलाई देखेलगत्तै अंगालो हाल्दै डाँको छाडेर रोएका छन् ।
धन्यवाद दिन हुमागाईंसँगै पुगेका विजयी प्रदेश सांसद लक्ष्मण लम्साललाई मतदाताले श्रद्धाभावले फूलमाला,खादा र अबिर लगाएका छन् । स्थानीयले सम्मान गरिरहँदा हुमागाईलाई जिताउन नसकेकोमा खिन्न हुँदै कार्यकर्ताले एक्कासी अंगालो हालेर डाँको छाडेका थिए ।
राजनीतिक रुपमा मैले जितेको छु । तपाईंहरुले यति धेरै माया गरेर मत दिनुभएको छ । काभ्रेको राजनीतिमा रहुञ्जेल चुनावअघि गरेको वाचा कुनै न कुनै रुपले पूरा गर्नेछु । हार भयो भनेर निराश कहिल्यै नहुनु होला । अर्को चुनावमा जित्ने गरी संगठनलाई बलियो बनाउनेछु,’ हुमागाईंले भने ।
पराजयपछि पनि नेता धन्यवाद दिन गाउँ पुग्दा सबैजना आश्चर्यमा परेको गठबन्धनका कार्यकर्ता प्रकाश खत्रीले बताए । काँग्रेसभित्रको अन्तरघातका कारण हार व्यहोर्नुपरेको उनले उल्लेख गरे । अन्तरघात गर्नेलाई तत्काल कारबाही गर्न काँग्रेसीले नेतृत्वसँग आग्रह गरेका छन् ।
कर्णालीको नेतृत्व लिन केन्द्रको निर्देशनको पर्खाइमा एमाले र माओवादी केन्द्र
कर्णाली प्रदेशको नेतृत्वका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दाबी गरेका छन् । दुवै पार्टीले बुधबार प्रदेशसभा संसदीय दलको नेताको टुङ्गो लगाएका छन् । दुवै पार्टीले आ–आफ्नो नेतृत्वको प्रदेश सरकार गठन गर्न कसरत सुरु गरेका छन् ।
कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पार्टी प्रदेशसभामा दोस्रो ठूलो दल भएकाले माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ सत्ता समीकरणका हिसाबले कर्णालीमा माओवादी एमालेभन्दा ठूलो छ । त्यस आधारमा पनि परिणामतः मुख्यमन्त्री माओवादीले नै पाउनु पर्छ ।” प्रदेशस्तरमा सहमति नजुटेकाले केन्द्रको निर्णय कुर्नैपर्ने देखिएको शर्माले बताउनुभयो ।
कर्णाली प्रदेशसभामा एमाले संसदीय दलका नेता यामलाल कँडेलले सत्ता समीकरणका हिसाबले यसपटक कर्णालीमा सरकारको नेतृत्व एमालेले नै गर्ने बताउनुभयो । “यहाँ दुवै दलबीच सहमति गरेर सरकारको नेतृत्व आफूले लिने प्रयास त हुने नै भयो”, उहाँले भन्नुभयो, “यहाँ हुने कुराले सजिलै निचोड दिने अवस्था नआउँदा अन्ततः केन्द्रकै निर्देशनानुसार सरकार बन्ने देखिन्छ ।”
यसअघिको गठबन्धन तोडिएपछि कर्णाली प्रदेशमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा बस्ने पक्का भएको छ ।
चालीस सदस्यीय प्रदेशसभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० तथा नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र एक–एक प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्र र एमाले मिल्दा मात्र पनि कर्णालीमा बहुमतको सरकार बन्ने अवस्था छ ।