घनश्याम र भीम रावल हामीसँग आउन तयार छन् : माधव नेपाल

हाम्रो सन्देश संवाददाता

१५ पुस, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी बनाउने आँट अझै कायमै रहेको भन्दै निराश नहुन पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

जनवर्गीय संगठन र प्रवास कमिटीका नेताहरुसँग आज जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले धेरै साथीहरु पार्टीमा जोडिने कुरा आएको बताए ।

उनले घनश्याम भुसाल नेकपा एसमा समाहित हुन तयार रहेको र भीम रावलले भोलि बसौं भनेको भन्दै वामदेव गौतम पनि सकारात्मक रहेको बताए । नेता नेपालले एमाले अध्यक्ष केपी ओलीसँग संवाद हुने संकेत पनि गरेका छन् । उनले प्रचण्ड सरकारलाई विश्वासको मत दिने बताए ।

नेपालले भने– साथीहरुले महाधिवेशन हुनुपर्छ पनि भन्नुभएको छ । हामी तयारी गर्ने छौँ । पार्टी बनाउने छौँ । साथीहरु पार्टीमा जोडिने कुराहरु आएका छन् । घनश्याम कमरेड तयार हुनुहुन्छ । भीम रावलले भोलि बसौँ भन्नुभएको छ । वामदेव कमरेड तयार हुनुभएको छैन । तर, सकारात्मक हुनुहुन्छ ।

सरकारमा जानेबारेमा नेपाल आशावादी देखिएको बैठकमा सहभागी एक नेताले बताए । अहिले माधव नेपाल र झलनाथ खनालले सुझाव लिइरहेका छन् । अधिकांशले पार्टी एकता नै गर्ने भए एमालेसँग गर्नुपर्ने सुझाव दिएका छन् ।

मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिको महान् चाड तमु ल्होसारको सुखद् अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

“तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुआतको रूपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिकरूपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय वेषभूषा लगाउने चलन छ । यो पर्वका बेला घाटु, सोरठी र चुड्का भनेर प्रचलित कौडा नाचेर आफन्त, परिवार र साथीभाइसँग रमाइलो गरिन्छ मुख्यमन्त्री राईको शुभकामना सन्देशमा उल्लेख छ ।

नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो मुलुक सांस्कृतिक परम्पराको दृष्टिकोणले सम्पन्न मुलुक हो । विभिन्न भाषा, संस्कृति, वेषभूषा, संस्कारसहित आ–आफ्नो जातीय पहिचान मानव सभ्यताका आधार स्तम्भ हुन् । यस्तो विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो मुख्यमन्त्री राईले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा तमु ल्होसारका अवसरमा उहाँले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।