१३ पुस, काठमाडौं ।
नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय संहालेको दोस्रो दिन गृहसचिव र कर्मचारीलाई बोलाएर कार्यविधिविपरीत विभिन्न व्याक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएका हुन् ।
मन्त्रीको निर्देशन बमोजिम गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले सूचना जारी गरेका छन् ।
विशिष्ट व्याक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार बहालबाला तथा पूर्व पदाधिकारीमध्ये निश्चितलाई मात्रै सेन, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी तथा इन्धनको सुविधा तोकिएको छ ।
मन्त्रालयले सत्ता र शक्ति वा पहुँचका आधारमा कार्यविधि मिचेर यस्तो सुविधा दुरुपयोग गर्नेको सुरक्षाकर्मी फिर्ता गर्ने भनेको हो ।
तर कार्यविधि अनुसार नै पूर्व पदाधिकारीको सुरक्षामा प्रहरी खटाइएकोले उनीहरुलाई फिर्ता ल्याउन नमिल्ने प्रहरी प्रधान कार्यालयले बताएको छ । यो खबर आजको नागरिकदैनिकमा प्रकाशित छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा हुनुपर्छ : सहमहामन्त्री पाण्डे
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने बताउनुभएको छ ।
कांग्रेस संस्थापन इतर समूहको आज काठमाडौँमा बसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले पार्टी पङ्क्ति र जनतामा निराश छाएको भन्दै राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताउनुभयो । उहाँले कांग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्नेबारेमा सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
कांग्रेसका अर्का सहमहामन्त्री जीवन परियारले पुस १० गतेको घटनालाई सामान्यरुपमा कांग्रेसले लिन नमिल्ने बताउनुभयो । उहाँले कांग्रेस देशकै ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको कुराले पार्टीमा ठूलो तात्विक असर परेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिकरुपमा ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्नबाट चुक्नुले देशलाई तरङ्गीत बनेको बताउनुभयो ।