एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा कँडेल

हाम्रो सन्देश संवाददाता

१३ पुस, काठमाडौं ।

नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन हुनुभएको छ ।

एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको हो । संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२)बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको दाबी थियो ।

आफूले दाबी छोडेपछि कँडेल सर्वसम्मत दलको नेतामा चयन भएको अध्यक्ष शाहले जानकारी दिनुभयो । नेता कँडेल विसं २०७४ मा पनि प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । हाल उहाँ एमालेको स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इञ्चार्ज हुनुहुन्छ ।

अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा उहाँले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायत विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्नेमा सम्पूर्ण ध्यान केन्द्रित भएको छ ।”

उहाँले अर्थतन्त्रको वर्तमान चुनौतीलाई अवसरमा बदल्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “सामूहिक प्रयासबाट अर्थतन्त्रमा देखिएको सङ्कटलाई जोगाउने दायित्व सबैको हो । सार्वजनिक निजी साझेदारीको अवधारणालाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्नेछ ।”

सो अवसरमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विद्यमान आर्थिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर एवं तरलता अभावका कारण लगानीको वातवरण बन्न नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य पूरा गर्न एकल अङ्कको ब्याजदर कायम गरिनुपर्दछ । दिगो आर्थिक विकास र स्थायित्वका लागि लगानीको वातावरण बन्न आवश्यक छ ।” चेम्बरले सरकारलाई आठबुँदे सुझावसमेत दिएको छ ।