जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको अनुरोध

हाम्रो सन्देश संवाददाता

१३ पुस, काठमाडौं ।

नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी हालैका दिनमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन हिटर, कोइला बालेर कोठा तातो बनाउनेलगायतको कार्यबाट कोठाभित्रको सम्पूर्ण अक्सिजन नष्ट हुने भएकाले झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चिसोबाट जोगिन झ्यालढोका बन्द गरेर हिटर तथा कोइला बाल्दा अक्सिजन नष्ट हुने साथै कार्बन मनोअक्साइडसमेत बनी कोठाभित्र रहेका मानिसमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, निस्सासिइ बहोस हुने र थाहै नपाइ दुःखद् निधन हुने घटना बढेको सो कार्य नगर्न अनुरोध गर्नुभएको छ ।

प्रहरीले आफू घर बाहिर निस्किदा कहिले पनि बन्द कोठामा हिटर अन गरी नछाड्न, झ्याल ढोकाका चरहरुमा बोरा, कपडा राखी हिटरलगायत विद्युतीय उपकरण नबाल्न, चुलो, फलामको चुलो, मकल, कराइमा दाउरा, कोइला बाली कोठाभित्र नराख्न, ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्न आग्रहसमेत गरेको छ ।

यसैगरी, विद्युतीय उपकरणका स्वीच, मल्टिप्लक काम सकिएपछि बन्द गर्न, चुलो, मकल, फलामको चुलो, हिटर नजिक छिटो जल्ने खालको कुनै पनि सामग्री नराख्न अनुरोध गरेको छ ।

हत्या आरोपमा एक युवक पक्राउ
आफ्नै काकीको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेह नगरपालिका–७ बेलापट्टी बस्ने २० वर्षीय दिलीपकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सोमबार साँझ ३० वर्षीया कवितादेवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उहाँको १४ महिनाको छोरा घाइते भएको प्रहरीमा खबर गएको थियो । प्रहरीले यस घटनामा अनुसन्धान गर्दै जाँदा महिलाको आफ्नै भतिजोले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीको अनुसन्धान टोली घटनास्थलमा जाँदा मृतकको शवमा गम्भीर चोट लागि रक्ताम्य तथा अर्धनग्न अवस्थामा शव फेला परेको हो ।

कुकुरसहितको टोलीले अनुसन्धान गर्दै जाँदा दिलीपलाई शङ्कास्पद अवस्थामा फेला परेको र उहाँको हातको बुढी औला तथा घाटीको भागमा स–साना चिथोरिएको जस्तो दाग देखिएको थियो । जिल्ला प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीका अनुसार दिलीपको शरीर खान तलासी गर्दा उहाँले लगाएको अन्डर वेयरभित्र मृतकले प्रयोग गर्ने मोबाइल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको तथा अन्डर वेयरको पछाडि भागमा रगत जस्तो पदार्थ लागेको अवस्थामा फेला परेको थियो ।