प्रचण्डको कम्युनिस्ट सरकारसँग चीन खुसी, राख्यो यस्तो स्वार्थी प्रस्ताव

हाम्रो सन्देश संवाददाता

१२ पुस, काठमाडौं ।

चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ ।

बेइजिङमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकोमा बधाइ दिएकी छिन् । उनले नेपालको सामाजिक र आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरेकी छिन् ।

चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी नेपालमा सहज ढंगले आम निर्वाचन सफल भएको बारेमा जानकार छौं ।’

‘प्रचण्डलाई नेपालको नयाँ प्रधानमन्त्री नियुक्ति भएकोमा हार्दिक बधाइ छ’, उनले भनेकी छिन्, ‘नेपाल सरकार, नागरिकको साझा प्रयास, विभिन्न राजनीतिक दल र शक्तिहरूको परामर्श र समन्वयबाट नेपालमा स्थायित्व र दिगो सामाजिक आर्थिक विकास हुने विश्वास चीनको छ ।’

प्रवक्ता माओ निङले परम्परागत मित्र र छिमेकी भएको नाताले चीन सँधै नेपालसँगको सम्बन्धलाई गहिरो महत्व दिइरहेको बताइन् ।

चीनले नेपाल सरकारसँगको मैत्रीपूर्ण सहयोग आदानप्रदानलाई विस्तार गर्दै सम्बन्धलाई थप मजबुत बनाउन चाहेको प्रवक्ता माओ निङले बताएकी छिन् ।

उनले विकास र समृद्धिका लागि उच्च गुणस्तरको ‘बेल्ट एण्ड रोड’ सहकार्यलाई अघि बढाउने र रणनीतिक साझेदारीमा सहकार्य गर्न चीन सँधै तयार रहनेसमेत बताएकी छिन् ।

चीनले नेपालमा कम्युनिस्टहरूको सरकार बनोस् भन्ने चाहना राखेको थियो ।

दुई ठूला कम्युनिस्ट पार्टीले नेतृत्व गरेको सरकारबाट चीनले आफूले चाहेको काम नेपालबाट गराउन इच्छुक रहेको उसका पछिल्ला गतिविधिले देखाएको छ ।

चीनले प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीमार्फत आफ्ना उद्देश्यहरू पूरा गर्न चाहेको छ । नेपालको राजनीतिलाई चीनले आफ्नो कब्जामा राख्न खोजेको उसका अभिव्यक्तिदे खाएका छन् ।