प्रहरी तपाईले चलाउने हो, मैले होइन, कुनै हस्तक्षेप हुँदैन : गृहमन्त्री लामिछाने

हाम्रो सन्देश संवाददाता

१२ पुस, काठमाडौं ।

उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री लामिछानेले प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई प्रहरी संगठनभित्र आफूले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताएका हुन् ।

गृहमन्त्री लामिछानेको भनाइ उदृत गर्दै आईजीपी सिंहले भने, ‘गृहमन्त्री ज्यूबाट नेपाल प्रहरीलाई तपाई आफैले चलाउने हो । मैले कुनै पनि प्रकारको हस्तक्षेप गर्दैन । प्रहरी चलाउने आईजीपीले मैले होइन । राम्रोसँग जिम्मेवारीअनुसार काम गर्नुस् भनेर निर्देशन दिनुभएको छ ।’

आईजीपी सिंहलाई गृहमन्त्री लामिछानेले सबै प्रकारको सहयोग गर्ने आश्वासन पनि दिएका छन् । लामिमछानेले जनताले अनुभूति गर्ने गरेर शान्ति सुरक्षा र अमनचयन बनाउन पनि निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले प्रहरी र जनताबीचको सम्बन्धलाई आफ्नो कार्यकालमा बिगतको भन्दा पनि सु–मधुर होस् भन्ने निर्देशन दिएको आईजीपी सिंहले बताएका छन् ।

राष्ट्रिय स्वतन्त्रत पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री लामिछाने ऐन, नियम र कार्यक्षमताका आधारमा जवानदेखि उच्च तहका प्रहरी अधिकृतहरूले अवसर पाउनुपर्ने बताएका छन् ।

उनले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कार र गलत कार्य गर्नेलाई दण्ड सजायका व्यवस्थालाई विशेष ध्यान दिन पनि आग्रह गरेका छन् ।

लामिछानेले निर्मला प्रकरणको फाईल खोलेर सुक्ष्म ढंगले अनुसन्धान पुनः बढाउन नेपाल प्रहरीलाई निर्देशन दिइसकेका छन् ।

गृहमन्त्री लामिछानेले प्रहरीभित्र राजनीतिक दवाव वा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएर राम्रो सुरुवात गरेका छन् ।