दाहालले आज राष्ट्रपतिसमक्ष शपथ लिने, मन्त्रिमण्डल गठनको तयारी

हाम्रो सन्देश संवाददाता

११ पुस, काठमाडौं ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार (आज) अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ ।

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा छलफल
सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बसेको दलहरुको बैठकमा आजै शपथ पछि सानो आकारको मन्त्रिपरिषद् बनाउनेबारेमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जानकारी दिनुभयो ।

बैठकमा सबै दलहरुले आआफ्नो धारणा राखे”, उहाँले भन्नुभयो, “अब प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ ।” नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकार सञ्चालनका लागि सानो मन्त्रिपरिषद् गठन गर्ने उहाँले जानकारी दिनुभयो । “कुन दलले कतिवटा मन्त्रालय लिने भन्नेबारेमा अहिले निर्णय भएको छैन”, अध्यक्ष लामिछानेले भन्नुभयो ।

बैठकमा सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो । नवनियुक्त प्रधानमन्त्री दाहालले आज ४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

बैठकमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।