माओवादी पदाधिकारीलाई प्रचण्डको ब्रिफिङ !

हाम्रो सन्देश संवाददाता

११ पुस, काठमाडौं ।

नवनियुक्त प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले संविधानको धारा ७६ (३) को प्रक्रियामा लैजाने चालबाजी गरेपछि आफूले राजनीतिक ‘मुभ’ चालेको बताएका छन् ।

सोमवार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले कांग्रेसले आफूहरूलाई अल्मल्याउने मात्र काम गरेको बताएका हुन् । संविधानको धारा ७६ (३) मा जाँदा पहिलो दलको हैसियतले कांग्रेसले स्वतः सरकारको नेतृत्व पाउने अवस्था हुन्थ्यो ।

‘अन्तिमसम्म पनि कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने अडान लियो । उसको नियत झुलाएर ७६ (३) मा लैजाने देखियो । त्यसपछि एकछिनमा आउँला भनेर म बालुवाटारबाट हिडें,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले लोकान्तरसँग भने, ‘बाटोमा हुँदा फोन पनि आएको थियो, तर उनीहरूको नियतचाहिँ सही थिएन । त्यसपछि मैले कम्युनिस्ट पार्टी मिलेर सरकार बनाउनु नै उपयुक्त हुने ठानें । यता कुरा मिल्यो र सब चिज भयो ।’

चुनावमा पनि कांग्रेसले इमान्दारीपूर्वक सहयोग नगरेकाले कम्युनिस्टसँगै मिल्नु पार्टीको हितमा हुने प्रचण्डले बताएका थिए ।

प्रचण्डले जनताको विश्वास जित्नेगरी काम गर्ने आश्वासन बैठकमा दिएका थिए ।

‘हामीलाई माओवादीको पहिचान मेटिँदै गएको चिन्ता छ । नयाँ सरकारले देशका समस्या र आर्थिक चुनौती समाधान गर्दै सुशासनमा केन्द्रित भएर काम गर्ने हो,’ प्रचण्डले भनेका थिए ।

बैठकमा नेताहरूले देशको आर्थिक अवस्था संकटपूर्ण रहेको र गम्भीरतापूर्वक लाग्नुपर्ने सुझाव दिएका थिए ।

एउटा टीम नै गठन गरेर अर्थतन्त्रलाई सही दिशा दिनेगरी काम गर्न नेताहरूले सुझाव दिएका थिए ।

बैठकमा प्रचण्डले मुख्य पदमा मोटामोटी भागबण्डा भए पनि मन्त्रालय बाँडफाँटको छलफल बाँकी रहेको बताएका थिए ।