११ पुस, काठमाडौं ।
नेकपा एमालेबाट आगामी सरकारमा उपाध्यक्ष विष्णु पौडेलले नेतृत्व गर्ने सम्भावना देखिएको छ । उपल्लोस्तरका अधिकांश नेता चुनावमा पराजित भएकाले जितेकामध्ये नेतृत्वकालागि पौडेल नै मुख्य दाबेदार छन् ।
अर्का उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपति हुने दाउमा छन् । त्यसैले उपाध्यक्ष पौडेलले नै उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्ने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।
अहिलेको गठबन्धन बनाउन सक्रिय भूमिका खेलेको र प्रचण्डसँग मिलेर काम गर्न सक्ने भएकाले पनि एमालेले पौडेललाई नै नेतृत्व गरेर पठाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।
यद्यपी एमाले स्रोतका अनुसार पौडेलले आफूले भनेअनुसारको टिम पठाए मात्रै नयाँ सरकारमा एमालेको नेतृत्व गरेर जाने बताएका छन् । उनको टिममा अरु को हुन्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।
भोलि प्रधानमन्त्रीको शपथ अगाडी नै एमालेले पार्टीबाट सरकारको नेतृत्व गर्ने नेता टुङ्गगो लगाइसक्ने बताइएको छ । पौडेल सरकारमा जान अनिच्छुक देखिए उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमालेको नेतृत्व गर्ने सम्भावना छ ।
चुनाव जितेकामध्ये पौडेल र नेम्वाङपछि गुरुङ नै एमालेको वरिष्ठ पदमा छन् । अहिलेको समीकरण बनाउन पनि योगदान रहेकाले पौडेल नभए गुरुङको नेतृत्वमा एमाले सरकारमा जाने सम्भावना छ ।
एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली चुनावमा पराजित भएका थिए । उपाध्यक्ष अस्टलक्ष्मी शाक्य, रामबहादुर थापा र युवराज ज्ञवाली तथा उपमहासचिव विष्णु रिमाल भने चुनावमा उठेनन् ।
सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी र योगेश भट्टराई मन्त्री बन्ने लाईनमा छन् । यद्यपी छविलालको सभामुख हुने पनि चर्चा भइरहेको छ ।