बालुवाटारबाट बाहिरिएपछि प्रचण्डले गरे गोल, सुवास नेम्वाङ राष्ट्रपति ?

हाम्रो सन्देश संवाददाता

१० पुस, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा यस्तो सहमति भएको हो ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि बालकोटमा १६६ सांसदको समर्थन जुटेको दाबी गरिएको छ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो ।

एमालेको ७८, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ । प्रचण्डले आजमात्रै कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमालेसँग सहकार्य अघि बढाएका हुन् ।
यता, दोस्रो कार्यकालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । पहिलो चरणमा प्रधानमन्त्री बन्ने भएपछि माओवादीको राष्ट्रपतिमा दाबी नहुने भएपछि एमालेले राष्ट्रपति पाउने निश्चित भएको छ ।

यद्यपि, प्रधानमन्त्रीमा सहमति जुटे पनि अन्य पद बाँडफाँटमा सहमति हुन बाँकी छ । तर, राष्ट्रपति भने एमालेले पाउने निश्चित देखिन्छ ।

राष्ट्रपति पाएको खण्डमा एमालेबाट को राष्ट्रपति बन्छन् ? भन्ने चासोको विषय बनेको छ । विभिन्न विकल्पमध्ये उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको नाम अगाडि सुनिन्छ ।

अध्यक्ष ओलीका विश्वासपात्र समेत रहेकाले नेम्वाङ नै राष्ट्रपति बन्ने चर्चा सुरु भएको छ । तर, सरकार गठन भएपछि मात्र एमालेले कसलाई राष्ट्रपति बनाउने भन्नेबारे निर्णय गर्नेछ ।

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन हुनुभएको छ । उक्त दलको काठमाडौँमा यही पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, दलको प्रमुख सचेतकमा गङ्गाराम चौधरी र सचेतकमा अरुणकुमार चौधरीलाई चयन गरेको सो पार्टीले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । केन्द्रीय समितिको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई चयन गरिएको छ भने प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गरिएको छ ।

त्यसैगरी, लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई चयन गरिएको छ । मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले आगामी २०८० साल वैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टीकापुरमा महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।