प्रधानमन्त्रीमा माओवादी अध्यक्ष दाहाललाई १६९ सांसदको समर्थन

हाम्रो सन्देश संवाददाता

१० पुस, काठमाडौं ।

प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदसहित नेकपा (माओवादी) केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गर्नुभएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको आज साँझसम्मको समयसीमाभित्रै अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभएको हो । उहाँलाई कूल एक सय ६९ सांसदको समर्थन छ ।

त्यसमा नेकपा (एमाले)को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।

राष्ट्रपति भण्डारीलाई पेश गरिएको समर्थनपत्रमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका दल नेता दाहाल, स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले हस्ताक्षर गर्नुभएको छ ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रञ्जिता श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । यसैगरी स्वतन्त्र सांसद प्रभु साह, किरण साह र डा अमरेशकुमार सिंहले पनि समर्थन गर्नुभएको छ ।

समुन्नत प्रदेश निर्माण गर्न सकिन्छ : मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रको सहयोगबाट समुन्नत प्रदेश निर्माण गर्न सकिने बताउनुभएको छ । ‘विराट एक्स्पो’ समापनका अवसरमा आज एक्स्पोका सहयोगीलाई प्रशंसापत्र वितरण गर्दै उहाँले यस क्षेत्रका उद्योगीले निर्यातमूलक उद्योग स्थापना गरी रोजगारी सिर्जना र व्यापार घाटा कम गर्नुका साथै समृद्ध प्रदेश निर्माण गर्न सकिने धारणा राख्नुभयो ।

मुख्यमन्त्री राईले एक्स्पोको माध्यमबाट प्रदेशका पर्यटकीयस्थलको प्रचारप्रसार भई आगामी दिनमा यस्ता कार्यक्रमले थप महत्व पाउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्यमन्त्री जयराम यादवले एक्स्पोको सञ्चालनबाट दक्षिण क्षेत्रमा आर्थिक चलायमान भएकोमा खुसी व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्योगीको चाहनाअनुरुप अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थापनाका लागि आवश्यक छलफल गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, एक्स्पो संयोजक भोलेश्वर दुलाललगायतले एक्स्पोको माध्यमबाट निजी क्षेत्रले प्रदेशमा उद्योग एवं व्यापार स्थापनामा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

मङ्सिर २९ गतेदेखि पुस १० गतेसम्म सञ्चालन भएको एक्स्पोमा नेपाली र भारतीय गरी तीन लाख बढी दर्शकले अवलोकन गरेको आयोजक जनाएका छन् । एक्स्पोमा विभिन्न विधाका तीन सय ६१ स्टल राखिएका थिए ।