बालुवाटार सुनसान, देशको नजर बालकोटतर्फ

हाम्रो सन्देश संवाददाता

१० पुस, काठमाडौं ।

सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ । नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहौल नै परिवर्तन भएको हो ।

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कसैलाई नदिने अडान लिएपछि गठबन्धन तोडेर माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट एमाले अध्यक्ष ओली निवास बालकोट हानिएका छन् । बालकोटमा अहिले नयाँ सरकार गठनको लागि छलफल जारी छ ।

उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी नेता अशोक राई समेत सहभागी छन् । उनीहरुबीच सत्ता सहकार्यमा सहमति जुट्दा आजै सरकार गठन हुन सक्ने सम्भावना प्रबल छ । भने, यता पहिलो आम निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने लगभग पक्का देखिएको छ ।

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा मानन्धर विजयी
यहाँ सम्पन्न नेपाल जेसीजको ४९औँ महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा विकाश मानन्धर विजयी हुनुभएको छ । महाधिवेशनमा अध्यक्ष पदका लागि पाँच उम्मेदवार रहेकामा एक जना उम्मेदवार अनिलबहादुर शाही ककस कार्यक्रममा अनुपस्थित भएकाले उहाँको उम्मेदवारी रद्द भयो भने निर्वाचनबाट मानन्धर विजयी हुनुभयो ।

मानन्धर पाँच सय ९५ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी रविन पोखरेलले दुई सय ९७ मत ल्याउनुभयो । मानन्धर आफ्ना तीन जना प्रतिद्वन्द्वी पोखरेल, सुमन श्रेष्ठ र दीपेन्द्र निरौलालाई पछाडि पार्दै विजयी हुनुभयो ।

यस्तै एक हजार दुई सय ५० मतदाता रहेको नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा चार पदका लागि नौ जना उम्मेदवार रहेकामा जीवनबहादुर कार्की, कुमारसिंह सान्वा लिम्बू, रजनी थापा र रश्मी बस्नेत विजयी हुनुभयो । उपाध्यक्षमा उम्मेदवार महेशचन्द्र ओझा, समप्रसाद पाण्डे, सुजन बरुवाल, कञ्चन झा र सन्दीप अग्रहरि पराजित हुनुभयो ।

यसैगरी १२ उपाध्यक्षका लागि १९ जना प्रतिस्पर्धामा रहेकामा भीमबहादुर कुँवर, वीरबहादुर भगत, सरोज अधिकारी, गुरुदेव पौडेल, राजाराम गौतम, अनुप सुनुवार, तेजप्रसाद उप्रेती, चिरञ्जीवी शर्मा, चन्द्रमणि भुसाल, सोनु श्रेष्ठ, राधिका भुसाल र स्वस्तिका आचार्य विजयी हुनुभयो ।

महाधिवेशनबाट एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष गरी १७ पदका लागि शनिबार मतदान भएको थियो ।