कांग्रेसको कारण गठबन्धन टुट्यो – प्रचण्ड

हाम्रो सन्देश संवाददाता

१० पुस, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको कारण गठबन्धन टुटेको घोषणा गरेका छन् ।बालुवाटार बैठकबाट बाहिरिएका दाहालले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,”आजको बैठकमा कुरा मिलेन । कांग्रेसको कारण गठबन्धन टुट्यो । म बालुवाटारबाट बाहिरिएँ । अब पार्टीमा छलफल गर्छु । कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिन्छु ।”

कांग्रेसले पहिलो राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि गठबन्धन टुटेको हो । आजको बैठकमा दाहालले तीन प्रमुख पद कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर लिनुपर्ने प्रस्ताव राखेका थिए । त्यसमा देउवा सहमत भएनन् ।

बालुवाटारमा कुरा मिलेन- प्रचण्ड, माधव र झलनाथ बाहिरिए प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनबीच भएको छलफलमा कुरा नमिलेका संकेत देखिएको छ ।

छलफल चलिरहेकै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटारबाट बाहिरिएका छन् ।

गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी परिचालन
बाँकेको दुर्गम क्षेत्र गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी बल सीमा सुरक्षामा परिचालन गरिएको छ । राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने दाङ र भारतसँग सीमा जोडिएको यो क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको अस्थायी बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेर सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वाटर बाँकेका प्रमुख प्रहरी उपरीक्षक जनक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल–भारत सीमानाका अन्तर्गत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा बीओपी राख्ने सरकारको नीतिअनुरुप राप्तीसोनारीको नयाँ गाउँस्थित गुर्दनगौडी र बानवा नाकामा प्रस्तावित बीओपी स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी बलको बीओपी स्थापनासँगै त्यस क्षेत्रमा खटिने सशस्त्र प्रहरी बलबाट नेपाल–भारत सीमास्तम्भको सुरक्षाका साथै नागरिकले पनि सुरक्षा महसुस गरेका छन् । करिब डेढदशकअघि पत्ता लागेको नयाँ गाउँका रूपमा परिचित उक्त ठाउँमा स्थानीयवासीले आफूहरु भारतीय सुरक्षाकर्मी र तस्करको दोहोरो असुरक्षामा रहेको भन्दै सुरक्षा चौकीको माग गर्दै आएका थिए ।

बीओपी स्थापनापछि चोरी पैठारी नियन्त्रण हुनुका साथै जनताले शान्तिको महसुस गरेको बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बताउनुभयो । उहाँले दुर्गम क्षेत्रमा सशस्त्र प्रहरी बलको पूर्वाधार निर्माण र जनताको आधारभूत आवश्यकता पूरा गर्न आफूले पहल गरिरहेको उल्लेख गर्नुभयो ।

भारतीय सीमासँग जोडिएको गुर्दनगौडी र बानवा नाका पुग्न अहिले पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । राप्तीसोनारी–४ बैजापुरक्षेत्रबाट मोटरसाइकलमा चारदेखि पाँच घण्टाको समय लाग्ने भए पनि वर्षाले सडक भत्किएको राप्तीसोनारीका अगुवा तुलसीराम थारुले बताउनुभयो ।

उहाँका अनुसार एक दशकअघि राज्यको नजरमा परेको नयाँ गाउँलाई साविक बैजापुर गाविस हुँदै अहिले राप्ती सोनारी गाउँपालिका–४ मा गाभ्ने काम भए पनि न्यूनतम आधारभूत सेवा सुविधासमेत स्थानीयवासीले पाउन सकेका छैनन् ।

बाँकेको अति विकट मानिने उक्त ठाउँ नयाँ गाउँका रुपमा परिचित छ । यहाँ झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी, चिउरीहवा, गुदनगौडी, मुरकट्टा (महेशपुर) र आमवासा लगायतका गाउँ रहेका छन् । भारतसँग जोडिएको बाँकेको सीमावर्र्ती गाउँबस्ती र नाकामा सशस्त्र प्रहरीले बीओपी निर्माण गरी सुरक्षा दिने कार्यलाई तीव्रता दिएको छ ।

बाँकेको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । सीमा सुरक्षाका लागि हाल नेपालतर्फ सशस्त्र प्रहरी बलको बाँकेमा बढैया, जयसपुर, नेपालगञ्ज भन्सार, कालावञ्जर, खडैँचा, गङ्गापुर, नरैनापुर र कटकुइँया गरी आठ बोर्डर आउट पोष्ट (बीओपी) कार्यालय छन् भने गुर्दनगौडी र बानवामा प्रस्तावित बीओपी रहेका छन् ।