कलिलो उमेरमा मलेसिया उडेका यि दुई किशोर को हुन् ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

अहिले सामाजिक सञ्जालमा दुई किशोरको फोटो भाइरल भएको छ । वैदेशिक रोजगारीका लागि जान लागेका दुई बालकको त्रिभुवन विमानस्थलमा खिचेको फोटोले सामाजिक सञ्जाल तताएको छ । चरम गरिबि र अभावले वैदेशिक रोजगारीमा जान कसरी बाध्य बनाएको छ भनेर बुझ्न यही फोटो काफि छ भन्दै धेरैले सामाजिक सञ्जालमा यो फोटो शेयर गरिरहेका छन् । फोटो हेर्दा उमेर नपुगेका जस्ता देखिने यि दुई बालक को हुन त ? अनि कुन देश गए ? यस्ता प्रश्न सामाजिक सञ्चालमा व्यापक रुपमा उठेका छन् ।

यि दुई किशोर रुकुम पश्चिमको चौरजहारी नगरपालिका १३ वागखोलाका हुन् । एउटै गाउँका दुई मध्ये एकको नाम हो टेकराज विक (फोटोमा दायाँ) र अर्काको नाम हो शिवलाल ओली (फोटोमा बायाँ) । कखराले गरेको सोधिखोजीबाट बिकको उमेर २१ वर्ष र ओलीको उमेर २४ वर्ष रहेको देखिएको छ । विकको जन्म मिति २०५८ साल र ओलीको जन्ममिति २०५५ साल रहेको वडाको अभिलेखबाट खुलेको वडाध्यक्ष श्रीकृष्ण शर्माले बताउनुभयो ।

तर उनिहरुले उमेर बढाएर नागरिकता बनाएको बुझिन्छ । टेकराजका दाई उदिराम नेपालीले भाइको नागरिकता बनाउने उमेर पुगेको भएपनि २१ वर्षको भने नभएको बताउनुभयो । ‘उमेरले उनिहरु दुवै कलिलै हुन्, नागरिकता भन्दा उनिहरुको उमेर कम हो, नेपालीले भन्नुभयो ।’ उनिहरु मलेसिया गएको नेपालीले पुष्टी गर्नुभयो । बुधबार राती काठमाडौंबाट उडेका उनिहरु बिहिबार बिहान मलेसिया पुगेको उहाँको भनाई छ । के काम भनेर गएका छन् ? भन्ने प्रश्नमा भने नेपालीले यसमा आफुलाई जानकारी नभएको र भाइलाई सोध्दा फिक्स नभएको जानकारी गराएको जवाफ दिनुभयो ।

ऋणको भारीले थिच्दा विदेशिए
तीन भाइ मध्येका कान्छा टेकराज यसअघि पनि रोजगारीका लागि पटक पटक भारत गइसक्नुभएको छ । ८ कक्षा पास गरेपछि घरको आर्थिक अभावका कारण पढाइलाई निरन्तरता दिन नसकेका टेकराज भारतको कमाइले ऋण तिर्न नसकिने देखेपछि मेलेसिया उडेको दाई उदिरामले बताउनुभयो । आमा बिरामी हुँदा ठूलो ऋण लागेको र आफ्नो श्रीमति समेत बिरामी हुँदा ठूलो रकम खर्च भएको उहाँको भनाई छ । चर्को व्याजमा ऋण लिँदा ऋणले टुपि नाघेपछि भाई कलिलो उमेरमै विदेशिन बाध्य भएको उहाँले बताउनुभयो । माइलो भाइ भारत जाँदै आउँदै गरेको र अव उसलाई पनि वैदेशिक रोजगारीका लागि पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

शिवलालको परिवारको अवस्था पनि फरक छैन् । एसइईसम्मको पढाई सकेका शिवलाल पनि परिवारको ऋण तिर्न विदेशिएका छन् । गाउँमा रोजगारी नभएको र गाउँको ज्याला मजदुरीले ऋण तिर्न नसकिने भएपछि दुई भाइ मध्ये जेठो छोरा शिवलाल कलिलो उमेरमै विदेशिन बाध्य भएको शिवलालका बुवा यामबहादुर ओलीले बताउनुभयो । आर्थिक अभावकै कारण छोरालाई उच्च शिक्षा दिन नसकेको उहाँको भनाई छ । गरिबिकै कारण छोरो मलेसिया उडेको उहाँले बताउनुभयो । गाउँमा रोजगारी छैन्, सामान्य ज्याला मजदुरीले पुग्दैन, विदेश नपठाई के गर्नु, यामबहादुले उल्टै प्रश्न गरे ।

मलेसिया उड्न साढे ४ लाख ऋण थपियो
ऋणको भारीले थिचिएका टेकराज र यामलाल थप ऋणको भारी बाकेर मलेसिया उडेका छन् । टेकराजका दाई उदिरामका अनुसार भाइले मलेसिया उड्दा म्यानपावरलाई २ लाख ८५ हजार बुझाएका छन् । पासपोर्ट बनाउँदा, काठमाडौं बस्दा तथा सबै गरेर मलेसिया उड्न थप साढे ४ लाख ऋण थपिएको उहाँले बताउनुभयो । कलिलै उमेरमा छोराहरु विदेशिएपछि परिवारमा चिन्ता पनि थपिएको छ । कतै केही हुने डरले दुवै परिवारलाई सताएको छ । टेकराज र शिवलाल मात्र होइन सोही गाउँका उनिहरुकै उमेरका प्रेमबहादुर ओली पनि केही समय अघि मलेसिया उडेका थिए ।