९ पुस, काठमाडौं ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो ।
यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा सञ्जयकुमार ठाकुरद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुनेलगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ । यसैगरी कोभिड–१९ को बुस्टर डोज खोप लगाउन पनि अपिल गरिएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष २०२३, क्रिसमसलगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बिएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।
लमजुङमा राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक निर्माण गरिने
मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको गाउँसहरस्थित लमजुङ माध्यामिक विद्यालय प्राङ्गणमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको पूर्णकदको शालिक निर्माण गर्ने भएको छ ।
प्रतिष्ठानको आज सम्पन्न ‘२१औँ साधारणसभा तथा अधिवेशन’का अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा बमबहादुर थापा ‘जीताली’ले गाउँसहरस्थित लमजुङ माविको प्राङ्गणमा शालिक राख्न राष्ट्रकविको पूर्णकदको शालिक निर्माण भइरहेको बताउनुभयो ।
“लमजुङ दरबारलाई पर्यटकीय र साहित्यिक थलोका रूपमा विकास गर्न पूर्णकदको शालिक निर्माण भइरहेको छ, चाँडै नै उक्त शालिकको अनावरण गछौँ”, उहाँले भन्नुभयो ।
प्रतिष्ठानका पूर्वअध्यक्षद्वय सोमकान्त अधिकारी र डा देवी सुवेदीले लमजुङमा छरिएर रहेका साहित्यिक प्रतिभालाई प्रतिष्ठानले खोजेर लमजुङको साहित्यिक अभियानलाई थप अगाडि बढाउनुपर्ने बताउनुभयो ।
वरिष्ठ पत्रकार एवं प्रतिष्ठानका संस्थापक सदस्य सोमनाथ घिमिरेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अभाव मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानलाई खड्किरहेको बताउनुभयो ।
नवोदित कलेजका प्राचार्य राजेन्द्र अधिकारीले नयाँ विद्यार्थीलाई समेत साहित्यिक क्षेत्रमा सङ्लग्न गरी साहित्यिक अभियानलाई थप अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्षमा विजयराज न्यौपाने निर्वाचित
प्रतिष्ठानको आज सम्पन्न २१औँ साधारणसभा तथा अधिवेशनबाट साहित्यकार विजयराज न्यौपानेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
प्रतिष्ठानको उपाध्यक्षमा साहित्यकार भाग्यशाली अधिकारी, सचिवमा श्रीकृष्ण न्यौपाने र कोषाध्यक्षमा लक्ष्मण थापा चयन हुनुभएको छ । यस्तै सदस्यमा कृष्ण अधिकारी, रामप्रसाद घिमिरे, अच्युत रेग्मी, अञ्जना पौडेल र यामबहादुर दुरा चयन हुनुभएको निर्वाचन समितिका सदस्य रामरञ्जन घिमिरेले जानकारी दिनुभयो ।
नेपाली भाषा, साहित्य, कला, संस्कृति, ज्ञान विज्ञान, शिल्प एवं प्रविधिको अध्ययन अनुसन्धान तथा मौलिक सिर्जना संंरक्षणका लागि विसं २०५३ चैत २९ मा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको स्थापना भएको हो ।