सरकारको नेतृत्वमा रवि लामिछानेको दाबी, नागरिकताबारे यस्तो भने ?

हाम्रो सन्देश संवाददाता

७ पुस, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ । पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी प्रतिनिधिसभामा चौथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि अन्य दलहरूसँग छलफल गर्ने बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथ ग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढ्ने भएकाले आफूहरू सोहीअनुसार अघि बढ्ने स्पष्ट पारेका हुन् । उनले संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकार बनाउने कुरामा संसद अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफू सचेत रहने बताए ।

‘अब आम नागरिकले मतदान दिएर विश्वास गरेर पठाइसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन, हाम्रा नेतृत्वका सरकार बन्ने वातावरण बन्यो भने त्यसमा छलफल नचलाएको होइन,’ उनले भने, ‘त्यसो हुनाले अब कुन ढंगले त्यो छलफल अघि बढ्छ भन्न सक्ने अवस्था रहेन, चौथो ठूलो दलका रुपमा हामीेले पनि नेतृत्व गर्न सक्छौँ कि भन्ने विषयलाई एकदमै सामान्य छलफलको विषय बनाएका छौँ ।’

सभापति लामिछानेले अदालतमा विचाराधीन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धि विवादका विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिए । अदालतको फैसलाअनुसार आफूले प्रतिनिधिसभा सदस्यमा उठेको र सपथ ग्रहण गरेको स्मरण गराउँदै नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वास गरे ।

अदालत र अनुसन्धानका लागि सम्बन्धित निकायले काम गरिरहेकाले यस बारेमा आफूले केही बोल्न नचाहेको उनको स्पष्टीकरण थियो । उनले भने, ‘अब अनुसन्धानमा रहेको, अदालती प्रक्रियामा रहेको विषयमा बोलिरहन पर्दैन, सबै कुरा अधिकार प्राप्त निकायले अनुसन्धान गरिरहेका म जहिले पनि उपलब्ध छु ।’

सभापति लामिछानेले आफ्नो पार्टी राजनीतिक रुपमा स्पष्ट रहेको जिकीर गरे ।