ओली र प्रचण्ड देखिए एउटै सोफामा

हाम्रो सन्देश संवाददाता

७ पुस, काठमाडौं ।

विगत लामो समयदेखि सँगै नदेखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै देखिएका छन् ।

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएपछि संसद भवन बानेश्वरमा आयोजित चियापान समारोहमा ओली र प्रचण्ड एउटै सोफामा देखिएका हुन् ।

संसद सचिवालयले आयोजना गरेको चियापानमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू सहभागी भएका थिए ।

सर्वदलीय बैठक : शपथग्रहण प्रक्रियाबारे जानकारी
प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहणअघि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र स्वतन्त्र सांसदको बैठक बसेको छ ।

प्रतिनिधिसभामा ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बोलाउनुभएको बैठकमा सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथग्रहणको प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि र स्वतन्त्र सांसद सहभागी हुनुहुन्थ्यो ।

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रतिनिधिसभाका दुई सय ७५ सांसदले आज शपथ लिँदै हुनुहुन्छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको थियो । ज्येष्ठ सदस्यको हैसियतमा आज उहाँले अन्य सबै सांसदलाई बानेश्वरस्थित संसद् भवनमा शपथ गराउनुहुनेछ ।