गगनले चुनाव हारेपछि चन्द्र भण्डारीको प्रतिक्रिया–भ्रमका काँडा नबिछ्याइदिनुहोस् !

हाम्रो सन्देश संवाददाता

६ पुस, काठमाडौं ।

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफूहरुको राजनीतिक पाठशालामा इमान्दारी र नैतिकतायुक्त राजनीतिक सँस्कृतिको संरक्षण र संवर्द्धनको पाठ अनुशासित शैलीमा पढाइने बताएका छन् ।

संसदीय दलको नेतामा गगन थापाको पक्षमा माहोल बनाउन सक्रिय भण्डारीले निर्वाचनमा प्राप्त मत अप्रत्यासित भएको बताएका छन् । यही अनपेक्षित परिणामलाई लिएर शेखर कोइराला–गगन थापा समूहमा फाटो ल्याउन प्रयास भएको भन्दै उनले कटाक्ष गरेका छन् ।

‘ हामी विचारमा बाँच्ने र जनभावनाको सम्मान गर्ने शक्ति हौँ । हाम्रो राजनीतिक पाठशालामा इमान्दारी र नैतिकतायुक्त राजनीतिक सँस्कृतिको संरक्षण र संवर्द्धनको पाठ अनुशासित शैलीमा पढाइन्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बेइमानी र रूप र सारमा भिन्न देखिनु हाम्रो चरित्र होइन । आजको संसदीय दलको निर्वाचनको अनपेक्षित परिणामलाई लिएर हाम्रै पार्टी समूहमा फाटो ल्याउन चाहने कुत्सित मनसाय बोकेका केही कलुषित मित्रहरू एवं कतिपय सञ्चार माध्यमका मित्रहरूले धमिलो पानीमा माछा मार्न खोज्नु भएको छ । सत्यलाई हत्केलाले छेक्ने र भ्रमको खेती गर्ने नगरौँ ।’

उनले आफूहरुको अठोट र परिवर्तनसहितको नवनेपाल निर्माणको यात्रामा भ्रमका काँडा नबिछ्याइदिन पनि अनुरोध समेत गरेका छ्न । ‘सकिन्छ आफू र आफ्नो पार्टीमा परिवर्तन गर्नुहोस्, अन्यथा हाम्रो अठोट र परिवर्तन सहितको नवनेपाल निर्माणको यस यात्रामा भ्रमका काँडा प्लिज नबिछ्याइदिनुहोस्’, भण्डारीको भनाइ छ । संसदीय दलको निर्वाचनमा थापा सभापति शेरबहादुर देउवासँग भारी मतान्तरले पराजित भएका थिए ।

मधेस प्रदेश : ज्येष्ठ सदस्य कलवारले शपथ गराउने
मधेस प्रदेशसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य शारदाशङ्करप्रसाद कलवारले शपथ गराउँदै हुनुहुन्छ ।

संसद् सचिवालयका सचिव रञ्जित यादवले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय गरिएको बताउनुभयो । सचिव यादवका अनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई पहिले शपथ गराउने र कलवारले अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनुहुन्छ ।

सचिव यादवले भन्नुभयो, “कानुनी प्रावधान निर्वाचन ऐनमा व्यवस्था भएअनुसार उपस्थित सांसदमध्ये ज्येष्ठ सदस्यले शपथ गराउनुपर्ने भएको हुँदा ज्येष्ठताका आधारमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपानेले शपथ गराउने कार्यक्रम तय भएको थियो तर न्यौपाने अस्वस्थ रहेकाले शारदाशङ्कर कलवारले सांसदको शपथ गराउने तयारी भएको छ । न्यौपानेको उमेर ७१ वर्ष छ भने शारदाशङ्करको उमेर ७० वर्ष रहेको छ ।”

सचिव रञ्जित यादवले न्यौपाने नआउने भएपछि बारा २ को (१) बाट स्वतन्त्र निर्वाचित कलवारबाट नै ज्येष्ठ सदस्यको रुपमा शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको संसद् सचिवालयले स्पष्ट पारेको छ ।

यद्यपि अहिलेसम्म प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउनेबारे समय निश्चित भइनसकेको बताउनुभयो । सचिवालयले आगामी आइतबार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने उहाँले जानकारी दिनुभयो । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट मधेस प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ जना र समानुपातिकतर्फ ४३ जना गरी एक सय सात सांसद निर्वाचित भएका छन् । उनीहरूलाई शपथ गराएपछि मात्रै संसदीय गतिविधि अघि बढाउनुपर्ने व्यवस्था रहेको पनि संसद् सचिवालयले जनाएको छ ।

यस्तो छ अङ्क गणित

मधेस प्रदेशमा यस पटक नेकपा (एमाले), नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १० दलको प्रतिनिधित्व छ । यसअघिको कार्यकालमा जसपा पहिलो, नेपाली कांग्रेस दोस्रो, लोसपा तेस्रो, नेकपा (एकीकृत समाजवादी) पार्टी चौथो, नेकपा (एमाले) र माओवादी पाँचौँ दलको रुपमा थियो ।

यस पटक २०७९ को निर्वाचनमा मधेस प्रदेशसभामा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक आठ गरी २३ सिट पाएर पहिलो दल बनेको छ । यस्तै, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा नौ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा नौ र समानुपातिकमा सात गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा छ र समानुपातिकमा सात गरी १३ सिटसहित चौथो दल बनेको छ ।

यस्तै, लोसपाले प्रत्यक्षमा सात र समानुपातिकमा दुई गरी नौ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा चार र समानुपातिकमा चार गरी आठ सिट पाएर छैटौँ तथा एकीकृत समाजवादी प्रत्यक्षमा चार र समानुपातिकमा तीन गरी सात सिट पाएर सातौँ दल बनेको छ ।

मधेस प्रदेशसभामा राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा एक–एक सिट पाएका छन् भने यसपटक छ जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन् ।