५ पुस, काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका छन् ।
आज सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार रहेको बताएका हुन् । वामपन्थी दलहरुबीच एकै ठाउँमा आउने वातावरण बनाउनका लागि एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई स्वीकार गर्ने बताए ।
अहिलेको राजनीतिकलाई पुरानै बाटोमा फर्काउन पनि एमालेले त्याग गरेर भएपनि माओवादीलाई प्रधानमन्त्री छोड्नु पर्ने उनको तर्क छ । रजनीतिलाई सही बाटोमा ल्याउन अहिलेनै पहल गर्नुपर्ने उनको भनाइ थियो ।
प्रचण्ड प्रधानमन्त्री बन्ने एमालेले राष्ट्रपति लिने र अन्य कम्युनिष्ट दललाईसमेत मिलाएर राजनीतिको नयाँ कोर्ष सुरु गर्नुपर्ने उनले बताए । निर्वाचनका बेला एमालेले नयाँ प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको भएपनि नयाँ राजनीतिक मोडमा नयाँ निर्णय लिनसक्नु पर्ने उनले बताए ।
एमाले–माओवादी एकतामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाधक बनिरहेको उनले आरोप थियो ।
प्रदेश मन्त्रिपरिषद् बैठक : नवौँ राष्ट्रिय खेलकुदका विजेता खेलाडीलाई सम्मान गर्न बजेटको व्यवस्था
प्रदेश नंं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सम्मान गर्न आवश्यक बजेटको व्यवस्था गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज बसेको बैठकले बजेट स्वीकृत गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रस्तुत सार्वजनिक सुनवाई, सार्वजनिक लेखापरीक्षण तथा सामाजिक परीक्षण कार्यविधि, २०७९ स्वीकृत गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रस्ताव गरेको स्थानीय तहमा अपाङ्गता सहायता कक्ष सञ्चालनसम्बन्धी कार्यविधि, २०७९, सोही मन्त्रालयको ब्रिज कोर्स तथा भाषा शिक्षण कक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेको छ ।
बैठकले मिति २०७९ पुस ४ गते सोमबार खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका वडा नं ४, बाक्सिला बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्तामन्त्री घिमिरेले जानकारी दिनुभयो ।