प्रधानमन्त्री र राष्ट्रपति प्याकेजमै टुंग्याउनुपर्ने माओवादी केन्द्रको निष्कर्ष

हाम्रो सन्देश संवाददाता

४ पुस, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपतिबारे प्यकेजमै सहमति गर्नुपर्ने निचोड निकालेको छ।

पार्टी कार्यालय पेरिसडाँडाँमा आइतवार बसेको बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनबारे छलफल भएको थियो। सरकार गठन र राष्ट्रपति चयनको विषय गठबन्धनमा प्याकेजमै गर्नुपर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका सचिव हरिबोल गजुरेलले जानकारी दिए।

‘राष्ट्रपति र प्रधानमन्त्रीबारे प्याकेजमै गर्ने भन्ने कुरा भयो,’ उनले भने।

यस्तै नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि समाजवादी फोरम बनाउने विषयबारे पनि आज छलफल भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी फोरम बनाउनेबारेमा नेताहरुलाई प्रस्ताव गरेका थिए।

मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनअघि एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने भन्दै एकता संयोजन समिति बनाउने निर्णय भएको थियो।

एकीकृत समाजवादीको संसदीय दलको बैठक पुस ४ गते
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले समान विचार भएका राजनीतिक दलसँग एकताबद्ध भएर बलियो सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने निर्णय गरेको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले स–साना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकजुट गर्ने निर्णय गरेको हो।

आइतवार भएको बैठकमा सत्ता गठबन्धनलाई एकताबद्ध गरि साझा उम्मेदवारको नेतृत्वमा सरकार निर्माण गर्ने विषयमा छलफल भएको थियो। यस्तै, निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको चुनावी समीक्षा, मुलुकको समसामयिक राजनीतिक अवस्था तथा आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि बैठकमा छलफल भएको थियो। यही पुस ४ गते संसदीय दलको बैठक बोलाउने निर्णय पनि भएको प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

आइतवार नै अध्यक्ष नेपालले आज वामदेव गौतमसँग भेटवार्ता गरि एकताबद्ध भएर जाने विषयमा छलफल गरेका थिए। नेपालले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि राजनीतिक विषयमा भेटवार्ता गरेका थिए।