कतार विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्ने

हाम्रो सन्देश संवाददाता

३ पुस, काठमाडौं ।

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल (आज) आइतबार राति हुँदैछ ।

कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८: ४५ बजे सुरु हुनेछ ।
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । दुबै देशले हालसम्म समान दुई विश्वकप जितेका छन् ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।

अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई विश्वकप उचाल्ने दबाब छ ।किन कि मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो

यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा रहेको छ ।

अर्जेन्टिना र फ्रान्सले सेमिफाइनलमा सहज जित समेत निकालेको थियो । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराएको थियो । दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २-० ले हराएको थियो । पछिल्लो पटक २०१८ मा रुस विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराएको थियो ।