रामेछापमा बोलेरो दुर्घटना : नौ जना घाइते, तीनको अवस्था गम्भीर !

हाम्रो सन्देश संवाददाता

३ पुस, काठमाडौं ।

रामेछापको उमाकुण्ड गाउँपालिका–६ भुजीमा आज दिउँसो बोलेरो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँबाट उमाकुण्ड गाउँपालिकाको भुजीतर्फ जाँदै गरेको बा ११ च ७५१२ नम्बरको बोलेरो गाडी भुजीको एकराते पहरा फास्तुमा दुर्घटनामा परेको हो ।

घाइतेहरूको उद्धार गरी गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । कच्ची सडकको मोडबाट गाडी अनियन्त्रित भई करिब ५० मिटर तल भिरमा खसेको छ । बोलेरोमा सवार सबै नौ जना घाइते भएका छन् ।

घाइतेमध्ये लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका वडासदस्य विमल सुनुवार, सोही गाउँका विमला सुनुवार र राजकुमार थापालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले बताउनुभयो ।

त्यसैगरी, गाडी दुर्घटनामा लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँकै २३ वर्षकी सृष्टि सुनुवार, ३० वर्षकी सीता कार्की, ३० वर्षकै मनिता खड्का र ४० वर्षका दीप सुनुवारलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि सदरमुकाम मन्थलीतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १६ वर्षीय नरेश खड्का र १९ वर्षीय सुजन भुजेलको अवस्था सामान्य रहेकाले उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।

अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्ने जनप्रतिनिधिको समझदारी
कालीकोट र अछाम जिल्लाका जनप्रतिनिधिले अन्तर प्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गर्नुभएको छ ।

अन्तर प्रदेश सडक निर्माणका विषयमा अछामका नवनिर्वाचित प्रतिनिधिसभा सांसद पुष्पबहादुर शाह, कालीकोट जिल्ला प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्ट, अछाम तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्प शर्मा, अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने र कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टबीच भएको छलफलमा अन्तर प्रदेश जोड्ने सडकको निर्माणमा पहल थाल्ने प्रतिबद्धतासहित समझदारी भएको हो ।

दुवै प्रदेशका जनप्रतिनिधिबीच काठमाडौैँमा सडक निर्माण गर्र्ने विषयमा छलफल भएको र सडक निर्माणका लागि संयुक्त प्रयास थालिने समझदारी भएको कर्णाली प्रदेशसभाका सदस्य विष्टले जानकारी दिनुभयो । “कालीकोट र अछामलाई अन्तर प्रदेश सडक निर्माणका विषयमा पहल थाल्ने आपसी समझदारी बनेको छ”, उहाँले भन्नुभयो, “दुई जिल्ला जोड्ने सडक निर्माणका लागि दुवै प्रदेश तथा सङ्घीय सरकारमा पहल थालिने भएको छ ।”

अछाम पञ्चदेवल विनायक नगरपालिकाको बेलखेतदेखि कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालु सडक, अछामको पञ्चदेवल नगरपालिका कोसेडी, कालाभिड हुँदै कालीकोटको नरहरिनाथ गाउँपालिकाको लालु जोड्ने अन्तर प्रदेश सडक निर्माणका छलफल भएको र यी दुई ठाउँबाट सडक निर्माणका लागि पहल थालिने अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले बताउनुभयो । “अन्तर प्रदेश सडक मात्र नभएर यी दुई जिल्ला आवातजावत गर्न सहज बनाउन सडक निर्माण आवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “अहिले सडक सञ्जाल नहुँदा आवतजावतदेखि व्यापारिक हिसाबले समस्या हुने गरेको छ ।”

कालीकोट र अछाम अन्तर प्रदेश सडक सञ्जालसँग जोडिएपछि कर्णाली प्रदेश र सुदूरपश्चिमको पर्यटन क्षेत्रमा टेवा पुग्ने अछाम तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्प शर्माले बताउनुभयो । अन्तर प्रदेश सडक निर्माणका लागि दुवै प्रदेशका जनप्रनिधि एक ठाउँमा भएको र सडक निर्माणका लागि दुवै प्रदेशका सङ्घ, प्रदेश र स्थानीय सरकारले पहल थाल्ने सहमति भएको कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिनुभयो ।