सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ एमाले पहिलो दल

हाम्रो सन्देश संवाददाता

२१ मंसिर, काठमाडौं ।

समानुपातिकतर्फको नतिजामा सुदूरपश्चिम प्रदेशमा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षमा ३ सिट र समानुपातिकमा ७ सिट गरी १० सिट पाएको एमाले प्रदेशसभामा भने तेस्रो दल बनेको छ ।

नेपाली कांग्रेस कांग्रेस प्रत्यक्षमा १२ र समानुपातिकमा ६ सिट जिती १८ सिटसहित पहिलो दल बनेको छ । माओवादी प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकमा ३ सिट हात पार्दै ११ सिट सहित दोस्रो दल बनेको छ ।

प्रत्यक्षतर्फ ५ सिटमा जित हात पारेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ ३ सिट प्राप्त गरेको छ । सुदूरपश्चिममा राप्रपा र नेकपा एसले पनि समानुपातिकमा १–१ सिट जितेका छन् ।

सुदुरपश्चिममा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ सांसद निर्वाचित भएका छन् । त्यहाँ सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । समानुपातिक प्रणालीमा थ्रेसहोल्ड कटाउनका लागि प्रदेशसभामा १.५ प्रतिशत प्राप्त गर्नुपर्ने कानुनी प्रावधान छ ।

आयात प्रतिबन्ध हटाउने सरकारको निर्णय
सरकारले आयातमा लगाएको प्रतिबन्ध हटाउने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागू हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो। सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध लगाएको थियो।

मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुन्छ। सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत १३ वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो।

सरकारले प्रतिबन्ध थप परिस्कृत गर्दै ६ प्रकारका वस्तुहरुको प्रतिबन्ध हटाएर ५० हजार डलर भन्दा माथिका गाडी, ३ सय डलर भन्दा महंगो मोबाइल, सबै प्रकारका विदेशी मदिरा र १५० सीसीभन्दा माथिका मोटरसाइकल आयात प्रतिबन्ध २९ मंसिरसम्म लम्ब्याइएको थियो।

सरकारको पछिल्लो निर्णयपछि अब पुस १ गतेदेखि यी वस्तुहरु आयात गर्न पाइने छ।