पेनाल्टी सुटआउटमा पनि गोल गर्न नसक्दा स्पेन विश्वकपबाट आउट

हाम्रो सन्देश संवाददाता

२० मंसिर, काठमाडौं ।

सन् २०१० को विश्वकप विजेता स्पेन कतारमा जारी फिफा विश्वकप फुटबलबाट आउट भएको छ । आज भएको प्रि–क्वार्टरफाइनल खेलमा स्पेन अफ्रिकी राष्ट्र मोरक्कोसँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै प्रतियोगिताबाट बिदा भएको हो ।

उपाधिको बलियो दावेदार स्पेनलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।पेनाल्टी सुटआउटमा स्पेनलाई मोरक्कोले ३–० ले स्तब्ध बनायो ।एजुकेसन सिटी रंगशालामा ८ः४५ बजेबाट सुरु भएको खेल निर्धारित समयको खेल ०–० मा सकिएपछि खेल ३० मिनेटको थप समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । बदर बनोउनेले गोल गर्न सकेनन् ।स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो सारावियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो । त्यसपछि कार्लाेस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई यासिन बोनोले बचाउँदै टोलीलाई अन्तिम आठको यात्रा तय गराए ।

९० मिनेटपछि ५ मिनेटको इन्जुरी समय, त्यसपछि ३० मिनेटको थप समय अनि ३० मिनेटमा पनि जम्मा ४ मिनेटको इन्जुरी समय गरी १२९ मिनेटसम्म चलेको खेलमा दुवै तर्फबाट गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।१२औं मिनेटमा अक्रफ हाकिमीको पेनाल्टी क्षेत्र बाहिरको फ्रिकिक सदुपयोग हुन सकेन ।

२७औं मिनेटमा मार्काे एसेन्सियोको प्रहारले पोस्टको दिशा लिन सकेन ।३३औं मिनेटमा माजराओईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक युनाई सिमोनले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । ४३औं मिनेटमा अचरप हाकिमीको क्रसमा सोफियन बोउफलको फ्लिक पासलाई एगुरेडको हेडर पोस्ट नजिकबाट बाहिरिदा मोरक्को अग्रता लिनबाट चुक्यो ।

५५औं मिनेटमा मार्काे एसेन्सियोको फ्लिक फ्रिकिकमा ड्यानी ओल्मोको प्रहारलाई गोलरक्षक यासिन बोनोल पञ्च गर्दै बचाउँदा स्पेनले अग्रता लिन सकेन ।८२औं मिनेटमा अल्भारो मोराटाले अवसर पाएपनि सदुपयोग गर्न सकेन । ८६औं मिनेटमा अकरफ हाकिमीको क्रसमा वालिड चेडडिराले एक डिफेन्डरबीचबाट गरेको

प्रहारलाई गोलरक्षक सिमोनले नियन्त्रणमा लिन सफल भए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पुन मोराटा चुके । उनको हेडरले पोस्टको दिशा लिन सकेन ।इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा ड्यानियल ओल्मोको क्रसलाई गोलरक्षक बोनोउले अर्काे सुन्दर बचाउँ गरे ।