समानुपातिकतर्फको मतगणना सकियो, एमालेले ३४ सिट पाउँदा स्वतन्त्र पार्टीलाई कति ?

हाम्रो सन्देश संवाददाता

२० मंसिर, काठमाडौं ।

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको छ।

सबै जिल्लाको मतगणना सकिएको र रुजु गर्ने काम भइरहेकाले केही मत तलमाथि हुनसक्ने आयोगका अधिकारीहरूले बताएका छन्। यद्यपि त्यसले दलले पाउने सिटसंख्यामा भने फरक नपर्ने उनीहरूले जानकारी दिए।

आयोगको वेबसाइटमा राखिएको जानकारीअनुसार एमालेले २८ लाख ४५ हजार ६४१, कांग्रेसले २७ लाख १५ हजार २२५, माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत ल्याएर राष्ट्रिय दल बने।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१३ र जनमत पार्टीले पनि ३ लाख ९४ हजार ३१३ मत ल्याउँदै राष्ट्रिय दल बने।

राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ। समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएकोमा यसको ३ प्रतिशत भनेको ३ लाख १६ हजार ८०२ हुन आउँछ।

माधवकुमार नेपालको एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत मात्र ल्याएर राष्ट्रिय पार्टी बन्न सकेन। एकीकृत समाजवादी पार्टीसहित अन्य दलहरू राष्ट्रिय पार्टी बन्न सकेनन्। एकीकृत समाजवादीको चुनाव चिह्न कलममा १८ हजार ४१२ थप मत परेको भए यो पार्टीले पनि समानुपातिकमा सिट पाउँथ्यो।

प्राप्त मतअनुसार समानुपातिकको ११० सिटमा एमालेले सबैभन्दा बढि सिट पाउनेछ। उसले ३४ सिट पाउँदा दोस्रो भएको कांग्रेसले ३२, माओवादी केन्द्रले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपा र जनमत पार्टीले समान पाँच–पाँच सिट पाउनेछन्।

वाम–लोकतान्त्रिक गठबन्धनले नयाँ सरकार निर्माण हुन्छ : महासचिव भुसाल
नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा महासचिव भुसालले मुलुकमा संविधानको रक्षा, राजनीतिक संरक्षणका लागि गठन भएको गठबन्धनको साझा उम्मेदवारले सरकारको नेतृत्व गरी देशमा स्थायित्व र स्थिरतका कायम गर्ने बताउनुभयो । उहाँले अबका केही सातामा बन्ने नयाँ सरकारले राष्ट्रको विकासका साथै जनताको सामाजिक रुपान्तरणका लागि योजनाबद्ध रुपमा सशक्त कार्यक्रम ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङलाई औपचारिक समारोहमा पार्टीमा स्वागत गरिएको थियो । मनाङ प्रदेशसभा ‘२’ बाट स्वतन्त्र रुपमा उम्मेदवार दिनुभएका गुरुङ निर्विरोध निर्वाचित हुनुभएका थियो । उहाँले पार्टीको वैचारिक सिद्धान्त तथा आदर्शप्रति आफ्नो आकर्षण भएकाले उक्त सङ्गठनमा आबद्ध भएर जनसेवामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनताको आर्थिक तथा सामाजिक सेवामा सक्रिय हुन स्वतन्त्र सदस्य एक्लै नभई सङ्गठन वा पार्टीमा आबद्ध भएर जानुपर्ने भएकाले पनि आफू एकीकृत समाजवादी पार्टीमा निःशर्त औपचारिक रुपमा प्रवेश गरेको प्रष्ट पार्नुभयो ।