नेपाललाई एक-पछि आर्को झट्का, ५ पार्टीले नपाउने भए राष्ट्रिय दलको मान्यता

हाम्रो सन्देश संवाददाता

२० मंसिर, काठमाडौं ।

प्रतिनिधिसभामा १२ राजनीतिक दल सहभागी हुन पाउने भएका छन । प्रतिनिधिसभामा १२ दल संसदमा सहभागी हुने भएपनि ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन ।निर्वाचनको अन्तिम परिणाम आउँदा नेपाली कांग्रेस, नेकपा एमाले,

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाउने भएका हुन ।राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत ’थ्रेस होल्ड ’

कटाउनुपर्ने कानुनी व्यवस्था छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ’थ्रेस होल्ड’ कटाउन नसकी राष्ट्रिय दलको मान्यता नपाउने सूचीमा परेको छ ।समाजवादीले अहिलेसम्म २ लाख ९४ हजार ३६२ मत प्राप्त गरेको छ ।

सो दलले अव ’थ्रेस होल्ड’ कटाउनेसंभावना सकिएको छ । यस्तै प्रत्यक्षतर्फ जितेका राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि थ्रेस होल्ड कटाएका छैनन ।

यो पनि : प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र महिला

काठमाडौं, गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबारसम्म देशभरका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको तथ्यांकअनुसार प्रतिनिधि सभा निर्वाचनमा अधिकांश क्षेत्रमा चुनाव जित्नेमध्ये पुरुष उम्मेदवारको बाहुल्यता देखिएको छ । आम निर्वाचन २०७९ मा १२ वटा राजनीतिक दल र स्वतन्त्र गरी १६५ जना विजयी भएका छन् ।

जसमा राजनीतिक दलबाट झण्डै ५ प्रतिशत अर्थात् ९ जना मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । झण्डै ९५ अर्थात् प्रतिशत १५६ जना पुरुष उम्मेदवारले चुनाव जितेका छन् ।

महिलाकाे उम्मेदवारी दिने क्रममै कमजोर स्थिति रहेकोमा निर्वाचित संख्या न्यून बनेको हो । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ५७ सिट जित्दा प्रत्यक्षमा एक जना मात्र महिला निर्वाचित भएकी छन् । युवा नेतृ सीता गुरुङले तेह्रथुमबाट जित हासिल गरेकी हुन् ।

यस्तै ४४ सिटसहित दोस्रो दल बनेको नेकपा एमालेबाट ४ जना मात्र महिला उम्मेदवार विजयी भएका छन् ।एमालेबाट चुनाव जित्नेहरुमा विद्या भट्टराई, ज्वालाकुमारी साह, जुली कुमारी महतो, भगवती चौधरी निर्वाचित भएका छन् ।

१८ सिट जितेको नेकपा माओवादी केन्द्रबाट एक जना मात्र महिला उम्मेदवार विजयी भएका छन् । माओवादीबाट रेखा शर्मा निर्वाचित भएकी छन् । सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना महिला उम्मेदवार निर्वाचित भएका छन् ।

कूल सात सिट जितेको रास्वपाबाट सोविता गौतम र तोसिमा कार्कीले प्रत्यक्षमा चुनाव जितेका हुन् । यस्तै ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरीले चुनाव जितेकी छन् ।

प्रत्यक्षमा कम महिला उम्मेदवार विजयी भए पनि संविधानतः हरेक दलबाट संसदमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य छ । त्यसकारण समानुपातिकमा दलहरूले महिलाको प्रतिशत पुर्‍याउन सिफारिस गर्नेछन् ।