जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

हाम्रो सन्देश संवाददाता

२० मंसिर, काठमाडौं ।

साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३(१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएको खेलमा थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको पुगेको थियो ।

पेनाल्टी सुटआउटमा क्रोएसिया ३–१ ले विजयी भयो। पेनाल्टी सुटआउटमा क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले गोल गरे । भने मार्को लिभाजा पेनाल्टीमा गोल गर्न असफल भए ।

जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् ।

क्रोएशियाका गोलकिपरले बनाएको यो रेकर्ड र अरु दुई रेकर्ड
कतारको अल जानोब रंगशालामा आज राति भएको खेलमा जापानले जित निकालेको भए उसले पहिलो पटक विश्वकपमा क्वार्टरफाइनलको यात्रा तय गर्ने थियो ।

तर, उसका तीन पेनाल्टी सुटआउट क्रोएशियाका किपर डोमिनिक लिभाकोभिकले रोकिदिए ।

विश्वकपमा पेनाल्टी सुटआउटमा तीन प्रहार रोक्नु चानचुने कुरा होइन । डोमिनिकले यसलाई सम्भव बनाएर एउटा रेकर्ड बनाएका छन् । उनी एउटै विश्वकपमा तीन पेनाल्टीहरु रोक्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि पोर्चुगलका रिकार्डोले २००६ मा इंग्ल्याण्डविरुद्ध र क्रोएशियाकै डानिजेल सुबासिकले डेनमार्कविरुद्ध २०१८ मा पनि तीन वटा पेनाल्टी रोकेका थिए ।

यो हारसँगै जापानको यो विश्वकप यात्रा पनि सकिएको छ ।

जापान सातौं पटक विश्वकपमा हुँदा फेरि यसअघिको जस्तै नियती दोहोरिएको छ । जापानले आजसम्म दुई तरिकाले मात्र आफ्नो विश्वकप यात्रा टुंग्याएको छ । उसले १९९८, २००६, २०१४ मा समूह चरणका सबैभन्दा तल रहेर विश्वकपको यात्रा तय गरेको हो भने २००२, २०१०, २०१८ र २०२२ मा अन्तिम १६ मा उसको विश्वकप यात्रा टुंङ्गिएको छ ।

निर्धारित समय र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएर पेनाल्टी सुटआउटमा जाँदा क्रोएशियाका लागि आफ्नै विगत सम्झाउने क्षण आएको छ ।

क्रोएशियाले २०१८ मा डेनमार्क र रुसविरुद्ध र २०१० मा पाराग्वेविरुद्धका पेनाल्टी सुटआउटमा जित निकालेको थियो ।