प्रदेश १ मा कुन दलबाट काे बन्दै छन् समानुपातिक सांसद (सूचीसहित)

हाम्रो सन्देश संवाददाता

१९ मंसिर, काठमाडौं ।

प्रदेश १ को समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचन आयोगले कुन दलले कति सिट पाउने भन्ने सार्वजनिक गरिसकेको छ।

समानुपातिकमा १८ लाख ९९ हजार १४४ मत सदरमतमध्ये एमाले एक्लैले ६ लाख ६५ हजार ४६० मत पाएको छ। यस्तै नेपाली काँग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११, नेकपा माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ र नेकपा एकीकृत समाजवादीले ५५ हजार ९५७ मत पाएकाे छ।

निर्वाचन आयाेगका अनुसार नेकपा एमालेले १५ सिट पाएको छ। नेपाली काँग्रेसले १२, नेकपा माओवादी केन्द्रले ४, राप्रपाले ४, जनता समाजवादी पार्टी र नेकपा एसले समान १-१ सिट पाएकाे छ। एमालेले प्रत्यक्षमा २५, कांग्रेसले १७, माओवादीले ९, नेकपा एसले ३ र राप्रपाले २ सिट पाएकाे छ।

प्रदेशसभामा ३३ प्रतिशत महिला सहभागिता पुर्याउन अब दलहरूले समानुपातिकबाट चुनिने ३७ मध्ये ३१ जना महिला पठाउनुपर्ने हुन्छ।

आफूले पाएको सिटअनुसार दलहरूले नाम छनोट गर्दा आदिवासी जनजाति ४६.७९, खस-आर्य २७.८४, थारू ४.१५, दलित १०.०६, मधेसी ७.५७ र मुस्लिम ३.५९ प्रतिशत पठाउनुपर्ने कानुनी व्यवस्था छ। यसरी छान्दा अल्पसंख्यक समुदायबाट १७.५३ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएका क्षेत्रबाट ०.४४ प्रतिशत नाम समावेश हुनुपर्छ।

एमालेबाट सम्भावित समानुपातिक सांसद

१५ सिट पाएको नेकपा एमालेले १३ जना महिला अनिवार्य पठाउनुपर्ने छ। १३ जना महिलामध्ये ६ जना आदिवासी जनजाति महिला, ४ जना खस-आर्य महिला, मधेशी, दलित र थारुमा एक/एक जना महिला समानुपातिकबाट पर्ने देखिन्छ। यस्तै पुरुषतर्फ खस-आर्य र जनजातिबाट एक/एक जना पर्ने देखिन्छ।

आदिवासी जनजाति महिलामा सिर्जना दनुवार (उदयपुर), कमला थापा मगर (झापा), मिना श्रेष्ठ (सुनसरी), सिर्जना राई (भोजपुर), मालती सुब्बा (मोरङ) र यशोदा कायस्थ (सुनसरी) पर्नेछन्। यस्तै ४ जना खस-आर्य महिलातर्फ शिला दीक्षित कार्की (मोरङ), तारादेवी ढकाल (झापा), मिरादेबी खनाल (सुनसरी) र गितादेवी रेग्मी (उदयपुर) रहेका छन्।

यस्तै, थारु महिलामा मोरङकी ललिताकुमारी चौधरी पर्नेछिन्। यस्तै दलित र मधेसी महिलाबाट क्रमशः कमलादेवी दर्नाल (तेह्रथुम) र गितारानी महतो (झापा) पर्नेछन्।

पुरुषतर्फ खस-आर्य कोटाबाट ओखलढुंगाका किशोर अधिकारी पर्नेछन्। जनजाति पुरुषबाट पाँचथरका श्रीप्रसाद जबेगु प्रदेशसभा सदस्य हुनेछन्।

कांग्रेसबाट को–को?

समानुपातिकमा १२ सिट पाएको नेपाली कांग्रेसले ५ जना आदिवासी जनजाति महिला, ३ जना खस-आर्य महिला, मधेशी र दलितमा एक/एक जना महिला गरी १० जना महिलालाई समानुपातिक सांसद बनाउनुपर्ने छ। यस्तै पुरुषतर्फ खस-आर्य र जनजातिबाट एक/एक जना पर्ने देखिन्छ।

आदिवासी जनजाति महिलाबाट मैया श्रेष्ठ (पाँचथर), डोल्मा तामाङ (सोलुखुम्बु), लिलाकुमारी राई (उदयपुर), कमला राई (खाटाङ) र ममता मगर तामाङ (सुनसरी) सांसद बन्नेछन्। यस्तै खस-आर्य महिलामा इन्दिरा थापा (धनकुटा), खगेश्वरी पौडेल (इलाम) र सुमना तिम्सिना (धनकुटा) पर्नेछन्।

मधेसी महिलाबाट झापाकी लखिकुमारी गणेश र दलितबाट सुनिता कुमारी तामाङ समानुपातिकबाट सांसद बन्नेछन्। खस-आर्य पुरुषतर्फ झापाका उद्धव थापा र आदीवासीतर्फ झापाका मोहन महर्जन सांसद बन्नेछन्।

अन्य दलबाट को-को?

समानसुपातिकबाट ४ सांसद पाएको माओवादी केन्द्रले ४ जनै महिला पठाउनुपर्नेछ। माओवादीबाट दुईजना जनजाति महिला, एक खस-आर्य र एक दलित सांसद बन्नेछन्।

जनजाति महिलाबाट बन्दना मगर (झापा) र सम्झाना तामाङ (उदयपुर), खस-आर्यबाट गीता तिम्सिना (मोरङ) र दलितबाट सुनसरीकी सपना दर्जी संसन बन्नेछिन्।

दुई सिट महिला प्रत्यक्षमा जितेको राप्रपाले समानुपातिकमा एक जना जनजाति महिला, दुई जनजाति पुरुष र खस-आर्यबाट एक जना पुरुष पठाउने छ। जनजाति महिलाबाट निमसरी राजवंशी (झापा), जनजाति पुरुषबाट प्रेमराज थाम्सोहाङ (पाँचथर), आङ्गेल्बु शेर्पा (सोलुखुम्बु) र खस-आर्यबाट झापाका अम्बरबहादुर बिष्ट पर्ने देखिन्छ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समानुपातिकमा एकएक सिट पाएका छन्। नेकपा एसले समानुपातिकबाट महिला जनजातिलाई समावेश गराउँदा मोरङकी विद्या चाम्लिङ राई सांसद बन्नेछिन्। जसपाबाट सुनसरीका भीमबहादुर राई सांसद बन्ने छन्।