अव्यवस्थित इन्टरनेटको तार काट्ने अभियान सुरु

हाम्रो सन्देश संवाददाता

१९ मंसिर, काठमाडौं ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका इन्टरनेटको तार काटिएको छ । यत्रतत्र छरिएका तारका कारण नगर क्षेत्रको सौन्दर्यमा असर परेको र दुर्घटनाको जोखिम बढेको भन्दै तार काटिएको नगरपालिकाले जनाएको छ ।

दिनभर नगर प्रहरीसहितको टोलीले सदरमुकाम परासी बजार क्षेत्रको विद्युत्को पोलमा लत्रिएका र आवश्यकताभन्दा बढी रहेका तार काटेको हो । इन्टरनेट सेवा प्रदायकलाई पटकपटक तार व्यवस्थापन गर्न आग्रह गरे पनि अटेरी गरेपछि बाध्य भएर तार काट्नु परेको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताउनुभयो ।

कार्यपालिका बैठकमार्फत तार व्यवस्थापन गर्ने निर्णय कार्यान्वयन गरिएको हो”, खड्काले भन्नुभयो, “सदरमुकाम परासीमा इन्टरनेट र केबल तारका कारण बजार क्षेत्रको सौन्दर्यमा असर परेको छ ।” विद्युत् पोलको भुइँबाट टुप्पोसम्म तारले जेलिएको छ भने लत्रिएका तारले पैदल यात्रुलाई असर परेको छ । स्थानीयवासीले तार व्यवस्थापन गर्न नगरपालिकाको ध्यानआर्कषण गराउँदै आएका थिए ।

तटबन्धसम्बन्धी विवाद सल्टाउन दुई देशका अधिकारीबीच छलफल
नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार भएको झडपबारे दुई देशका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच आज जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको हो ।

आइतबार नेपाल–भारतका स्थानीयबीच तटबन्धको विषयलाई लिएर दोहोरो ढुङ्गामुढा भएको थियो । ढुङ्गामुढा प्रहार भएपछि दुवै देशका आधा दर्जनभन्दा बढी नागरिक घाइते भएका थिए । सीमामा भारत पक्षले एकतर्फी महाकाली नदीको धार फर्किने गरी तटबन्ध निर्माण कार्य सुरु गरेपछि नेपालतर्फ खलङ्गाका स्थानीयहरूले आइतबार चर्को विरोध गरेका थिए ।

सीमा तटबन्धकै विषयमा केन्द्रित रहेर अधिकारीहरूबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । छलफलमा दार्चुलाका प्रअजिअ उपाध्यायले तटबन्ध निर्माण गर्दा दुवै देशलाई कुनै हानिनोक्सानी हुने गरी काम नगर्न आग्रह गर्नुभयो ।

छलफलमा विवाद भएको ठाउँमा तत्काल तटबन्ध निर्माण नगर्ने र विवाद नभएको ठाउँमा मात्र निर्माण गरिने सहमति भएको सहायक प्रजिअ हेमन्ती साउदले बताउनुभयो । भारतीय पक्षबाट एडिएम र एसडिम उपस्थित भएका थिए भने नेपालका तर्फबाट सुरक्षा निकायका प्रमुखहरू राजनीतिक दलका पदाधिकारीहरूसमेत उपस्थिति रहेको थियो ।

भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधीन तटबन्धभन्दा सातदेखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ। सो ग्याविन जाली तत्काल हटाइदिन भारतीय अधिकारीलाई प्रजिअले आग्रह गर्नुभएको थियो । भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका थिए । स्थानीयवासीले तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग राखेका छन् ।