निर्वाचन जित्दै प्रतिनिधिसभा पुगे १२ दल

हाम्रो सन्देश संवाददाता

१९ मंसिर, काठमाडौं ।

मंसिर ४ गते सम्पन्न आम निर्वाचन २०७९ को केन्द्र र प्रदेश दुबैतर्फका निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान दोलखाको मतगणना सकिएसँगै आम निर्वाचनअन्तर्गत प्रदेश र प्रतिनिधिसभा दुबैतर्फको नतिजा सार्वजनिक भएको हो ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रो स्थानमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो दल भएको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७, राप्रपा ७, जसपा ७, लोसपा ४ नागरिक उन्मुक्ति पार्टी १, जनमोर्चा १, नेमकिपा १, जनमत १ र स्वतन्त्र ५ जना सांसद निर्वाचित भएका छन् । संसद्मा १२ दलको प्रतिनिधित्व भए पनि थ्रेसहोल्डका कारण यी मध्ये ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने सम्भावना छ ।

गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न बस्दै
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षालगायत विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । गठबन्धनका शीर्ष नेतासहितको बैठकका नयाँ सरकार गठनबारेमा समेत छलफल हुने बताइएको छ ।

पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन् ।

यस्तै एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन् । यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले गठबन्धनकै नेतृत्वमा आगामी नयाँ सरकार बनाउने सम्बन्धमा विभिन्न चरणमा छलफल गरिसकेको बताएका छन् ।