१८ मंसिर, काठमाडौं ।
दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राख्नुभएको छ । हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उहाँले १९ हजार सात सय ४४ मत प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।
दोलखा प्रदेशसभा-१ मा सत्ता गठबन्धनका उम्मेदवार अगाडि हुनुहुन्छ । भने प्रदेशसभा २ मा एमाले उम्मेदवार अगाडि हुनुहुन्छ । प्रदेशसभा १ मा ३५ हजार आठ सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २९ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले १२ हजार आठ सय ८० मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा २ मा ४२ हजार एक सय ५४ मतगणना हुँदा एमालेका भरत केसीले १९ हजार चार सय १४ मत ल्याएर अग्रता लिनुभएको छ भने कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मतका साथ पछ्याइरहनुभएको छ ।
जिल्लामा समानुपातिकतर्फ ३४ हजार ११ मतगणना गर्दा एमालेले १२ हजार पाँच सय ७८, कांग्रेसले १० हजार नौ सय १७ र माओवादी केन्द्रले चार हजार चार सय ६६ मत पाएका छन् । दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियोे ।
जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।
बैतडी युवती हत्या घटना : हत्याका आरोपित महेन्द्रनगरबाट पक्राउ
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज महेन्द्रनगरस्थित बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।
प्रहरी निरीक्षक भरत गिरीका अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न रहेको आरोप लागेका बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका सशस्त्र प्रहरी जवान कोलीलाई पक्राउ गरेको हो । बिदामा घर आएका बखत मायाको हत्या गरेको कोलीमाथि आरोप छ । मायाका परिवारजनले कोलीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि उनको खोजी भइरहेको थियो ।
यही मङ्सिर १३ गते मायाको बैतडीमा घाँटी रेटेर हत्या गरिएको थियो । मायाको साथमा रहेकी नेहा लुहारको समेत घाँटी रेटेर हत्याको प्रयास गरिएको थियो । घाइते अवस्थामा भेटिएकी नेहाको हाल उपचार भइरहेको छ । बैतडीको शिवनाथ गाउँपालिका–६ स्थित शिवनाथ मन्दिर नजिकै मायाको शव फेला परेको थियो भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।
कास्कीको पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत कोली बिदामा घर आएका बेला उक्त घटना घटेको हो । घटना लगत्तै कोली गाउँबाट फरार रहेपछि हत्यामा उनको संलग्नता रहेको आशंका गरिएको थियो । प्रहरी श्रोतका अनुसार प्रारम्भिक बयानमा कोलीले मायाको हत्या गरेको स्विकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीमा मुद्दा चलिरहेकाले कोलीलाई आजै बैतडी पठाउने तयारी गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।