दोलखा निर्वाचन अपडेटः प्रतिनिधिसभामा एमालेको अग्रता

हाम्रो सन्देश संवाददाता

१८ मंसिर, काठमाडौं ।

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १४ हजार ३८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखाको प्रदेशसभा–१ मा गठबन्धन अगाडि देखिएको छ भने २ मा एमाले अगाडि छ । प्रदेशसभा–१ मा २९ हजार चार सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १४ हजार सात सय ५९ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ११ हजार पाँच सय १७ मत प्राप्तगर्नुभएको छ ।

प्रदेशसभा–२ मा ३० हजार तीन मतगणना हुँदा एमालेका भरत केसीले १६ हजार तीन सय ३७ मत ल्याएर अग्रता लिनुभएको छ भने कांग्रेसका बर्मा लामाले १२ हजार ५८ मतका साथ पछ्याइरहनुभएको छ ।

जिल्लामा समानुपातिकतर्फ २३ हजार छ सय १६ मतगणना गर्दा एमालेले नौ हजार तीन सय ३७३, कांग्रेसले सात हजार ४३ र माओवादी केन्द्रले तीन हजार दुई सय ४७ मत पाएका छन् । दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियोे ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

ह्वीलचियर प्रयोगकर्ताबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकामा देवचुली र पोखराका ह्वीलचियर प्रयोगकर्ताको मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।

पाँच–पाँच जनाको समुहमा विभाजित दुई समूहले ह्वीलचियरकै माध्यमबाट आफ्नो खेल प्रदर्शन गरेका थिए । खेलमा पोखराको समूह विजेता बनेको छ । ह्वीलचियर प्रयोगकर्ता पनि सवलाङ्ग व्यक्तिसरह सक्षम रहेको देखाउन प्रतियोगिता सञ्चालन गरिएको धवलागिरि अपाङ्ग उत्थान संस्था देवचुलीका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

अपाङ्गता भएकाहरूले पनि सामान्यसरह जे पनि गर्न सक्छन् भन्ने देखाउन खेल खेलिएको हो”, उहाँले भन्नुभयो, “सरोकारवाला निकायले उचित अवसरको व्यवस्था मिलाउन दबाब पुग्ने आशा लिएका छौँ ।”

सहभागीहरूलाई हौसला प्रदान गर्दै देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले अपाङ्गता भएकाहरूको हकहितका लागि आफू सदैव अगाडि हुने बताउनुभयो । उहाँ भन्नुभयो, “स्थानीय सरकारले अपाङ्गतामैत्री सेवा प्रवाह गर्दै सीप र अवसर दिनुपर्छ भन्नेमा हामी प्रतिबद्ध छौँ ।