दोलखा निर्वाचन अपडेट : २७ हजार ४१७ मत गन्दा कसले कति पाए मत ?

हाम्रो सन्देश संवाददाता

१७ मंसिर, काठमाडौं ।

दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ ।

हालसम्म २७ हजार ४१७ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार गङ्गा कार्कीले १२ हजार ४९० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ११ हजार ४०६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

दोलखाको प्रदेशसभा १ मा २२ हजार ५५६ मतगणना हुँदा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १० हजार ६६९ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले नौ हजार २११ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा २ मा २७ हजार ४८१ मतगणना हुँदा एमालेका भरत केसीले १२ हजार ३३७ र कांग्रेसका बर्मा लामाले १२ हजार २२० मत प्राप्त गर्नुभएको छ । दोलखामा कूल ८५ हजार ३८८ मत खसेको थियोे ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उम्मेदवार सात गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

‘पर्वतीय क्षेत्रको दिगो व्यवस्थापनका लागि एकीकृत प्रयास आवश्यक’
पर्वतीय क्षेत्रको दिगो व्यवस्थापनका लागि सबैको चासो र एकीकृत प्रयास आवश्यक रहेको विज्ञहरुले बताएका छन् ।

काठमाडौँको चन्द्रागिरिमा मङ्सिर १५ देखि आजसम्म चलेको तीन दिने दिगो अन्तर्राष्ट्रिय पर्वतीय विकास सम्मेलनले हिमालको दिगो व्यवस्थापनका लागि सरोकारवाला सबैको चासो र एकीकृत प्रयास आवश्यक भएको निष्कर्ष निकालेको हो ।

सम्मलेनमा विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमाल र समग्र वातावरणमा पारेको असरबारे गम्भीर चिन्ता र चासो व्यक्त गरिएको थियो । सम्मेलनमा सहभागी हिमालय क्षेत्रका विज्ञ तथा वैज्ञानिकले हिमालको दिगो व्यवस्थापन गर्न नसके यसले प्राकृतिक र मानवीय दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउन सक्ने भन्दै सरोकारवालालाई गम्भीर बन्न सुझावसमेत दिएका थिए ।

कार्यक्रममा नेपालसहित अमेरिका, बेलायत, जापान, चीन, भियतनाम, चिली, स्पेन र भारतलगायतका देशका विज्ञहरूले प्रत्यक्ष तथा भर्चुअलरूपमा क्षेत्रका विज्ञहरूले प्रस्तुतीकरण दिनुभएको थियो । यस्तै नेपालका पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

नेपाल पर्यटन बोर्डको आयोजना तथा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, होकाइदो युनिभर्सिटी जापान, युनिभर्सिटी अफ कोलोराडो अमेरिका, जिएलपी जापान, डब्ल्युडब्ल्युएफ नेपाल, इसिमोड, युएनडिपीलगायतका संस्थाको प्राविधिक सहयोग तथा समन्वयमा सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनमा उठेका विषयअनुसार आगामी दिनमा हिमालय क्षेत्रको समग्र विकास संरक्षणका लागि नीति तय गर्न सम्मेलनले केही मार्गदर्शन गरेको बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न विषयमा ६६ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।