सरकार गठनमा सबै विकल्प खुला छ : माओवादी

हाम्रो सन्देश संवाददाता

१७ मंसिर, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठनका सम्बन्धमा सबै विकल्प खुला राख्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सो पार्टीको पदाधिकारीको बैठकले सरकार गठनका सम्बन्धमा गठबन्धन र अन्य सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

बैठकपछि माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले दिनुभएको जानकारीअनुसार यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । समीक्षामा अपेक्षा गरेअनुसारको नतिजा हासिल हुन नसकेका भन्ने सन्दर्भमा गम्भीर ढङ्गले विषयवस्तु उठेको छ ।

तर समग्रमा भने सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि मिहिन तरिकाले समीक्षा गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । उपाध्यक्ष महराका अनुसार हाल कायम रहेको गबठन्धनलाई पनि कायम राख्दै अन्य विकल्पमा पनि छलफल गर्न खुला रहेकामा जोड दिइएको छ । उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन छाड्ने भन्ने होइन, तर सरकार गठनका सम्बन्धमा भने सबै पक्षसँग खुलारूपमा छलफल गर्छौँ ।” तर उहाँले गठबन्धन छाड्ने वा तोड्ने भन्ने विषयमा कुनै धारणा नआएको बताउनुभयो ।

माओवादीका अर्का नेता मातृकाप्रसाद यादवले भने प्रारम्भिकरूपमा छलफल सुरु भएको र नेताहरूले आ–आफ्नो धारणा राख्ने काम भएको जानकारी दिनुभयो । उहाँले निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआएको भन्नेमा भने सबैको एकमत रहेको बताउनुभयो ।

समग्र निर्वाचनको अवस्थाका बारेमा छलफल भएको उल्लेख गर्दै उहाँले गठबन्धन कायमै रहेको र त्यसमा हाल कुनै थप निर्णय नभएको बताउनुभयो ।

यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रतिनिधिसभातर्फ १७ स्थानमा जित हासिल गरेको छ भने प्रदेशसभामा ५३ स्थानमा विजयी भएको छ । दोलखामा भने मतगणना जारी छ । त्यहाँ सत्ता गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गङ्गा कार्की अग्रस्थानमा हुनुहुन्छ । बैठक आइतबार पुनः २ बजे बस्नेछ ।

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ । बुधबार बेलुकी ६ः३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा कांग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले नौ हजार तीन सय ३० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार बलदेव रेग्मीले आठ हजार एक मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रका कर्णबहादुर विकले एक हजार ३० मत पाउनुभएको छ ।

प्रदेशसभा १ मा स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

यसैगरी प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १० हजार नौ सय ७७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले आठ हजार छ सय ४० मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल शाहीले ७० र स्वतन्त्र उम्मेदवार जनक रावलले १६ मत पाउनुभएको छ ।