दोलखा मतगणना अपडेट : माओवादीका गंगा कार्कीलाई ७०० मतको अग्रता

हाम्रो सन्देश संवाददाता

१७ मंसिर, चरिकोट ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको दोलखाको मतगाण्ना जारी छ । मंसिर ४ मा सम्पन्न भएको निर्वाचनका केही मतदान केन्द्रमा फेरि दोहोराएर मतदान गरेपछिदोलखामा मतपरिणाम आउन ढिलाई भएको हो ।

अहिले दोलखामा प्रतिनिधिसभा तर्फको मतगणनामा माओवादी केन्द्रका नेता गंगा कार्की (विश्व)ले अग्रता लिईरहेका छन् । उनले गणनाको सुरुआत देखि नै अग्रता कायम राखेका हुन् । यधपी उनलाई पछ्याईरहेका एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले कार्कीसँगको मतभार भने घटाउँदैं लगेका छन् ।

पछिल्लो विवरण अनुसार, माओवादी केन्द्रका गंगा कार्की (विश्व)ले ७ हजार ९९५ मत पाएका छन् । एमालेका शिवाकोटीले ७ हजार २९५ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ७०० छ ।

हालसम्म १६ हजार एक सय ९४ मतगणना भएको छ ।

त्यस्तै, दोलखाको प्रदेशसभा (१) मा १३ हजार पाँच सय सात मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले छ हजार चार सय ७४ मत तथा एमालेका नरबहादुर श्रेष्ठले पाँच हजार तीन सय १९ मत ल्याएका छन् ।

प्रदेशसभा (२) मा १७ हजार चार सय ३१ मतगणना हुँदा एमालेका भरत केसीले सात हजार नौ सय सात र कांग्रेसका बर्मा लामाले सात हजार तीन सय ७३ मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार नौ सय ७८ मत खसेको थियोे ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

स्याङ्जा–२ सङ्घ र प्रदेश दुवैमा कांग्रेसको अग्रता
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।

प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ । गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार दुई सय १३ मतले अगाडि हुनुहुन्छ । बिहानसम्मको गणनाअनुसार गुरुङले २२ हजार चार सय ८० मत प्राप्त गर्दा अर्यालले २० हजार दुई सय ६७ मत ल्याउनुभएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार दुई सय ३८ मत ल्याउनुभएको छ । हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका १०, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३४ वडाको मगतणना सकिएको छ । अहिले गल्याङ नगरपालिकाको ११ नं वडाको मतगणना जारी रहेको छ । चापाकोट नगरपालिकाका १० वटा वडाको गणना बाँकी रहेको छ ।

त्यसैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा कांग्रेसका उम्मेदवार महेश भट्टराईले अग्रता लिनुभएको छ । गणना सुरु भएदेखि नै पछाडि पर्नुभएका भट्टराईले गल्याङ नगरपालिकाको गणना गरेपछि अग्रता लिनुभएको हो । गल्याङ नगरपालिकाको १० नं वडासम्मको गणना सकिँदा भट्टराई एक सय ४२ मतान्तरसहित अगाडि हुनुहुन्छ । भट्टराईले दश हजार दुई सय ६१ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले दश हजार एक सय १९ मत ल्याउनुभएको छ ।