१७ मंसिर, जनकपुरधाम ।
धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह, महोत्तरीको रामगोपालपुर–७ सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र निजकी बहिनी १३ वर्षीया सिर्जना साह तथा जीप चालक धनुषाको धनौजी–४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय संजय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय बालक अर्वण साह, १० वर्षीय आयुसकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीय प्रियङ्का साह, ५ वर्षीया बालिका प्रतिका साह र ४ वर्षीय बालक अंशु साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटना भएको हो । जीपमा महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै थिए । घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको उपरीक्षक रजौरेले जानकारी दिनुभयो ।
एकल महिला हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग
मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।एकल महिला समूहले धनकुटा शहीदभूमि घर भई धरान नगरपालिका–११ मा बस्दै आएकी उषा राई हत्यामा संलग्नलाई कानुनबमोजिम कारबाहीका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएको छ । सिलाइकटाइबाट जीविकोपार्जन गर्दै आएकी राई जागरण आमा समूहको निर्घात कुटपिटबाट मृत्यु भएकाले उक्त घटनाका दोषीलाई कारबाही गर्न माग गरिएको समूहका अध्यक्ष ममता नगालले बताउनुभयो ।
“राईमाथि दानवीय प्रवृत्ति देखाइएर गरिएको कुकृत्यप्रति भत्र्सना व्यक्त गर्दछौँ”, अध्यक्ष नगालले भन्नुभयो, “यो घटनाबाट मानिसको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार पूर्णतः हनन भएको छ ।” विशेष गरी समाजमा अपहेलित भएर बस्नुपरेका एकल महिलाको जीउ ज्यानको सुरक्षा र सम्मान जीवनको सुनिश्चितता राज्यले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यही मङ्सिर ३ गते राईमाथि कुटपिट हुँदा उपचारको क्रममा १४ गते मृत्यु भएको थियो । उक्त घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउने पक्षमा उभिन मानवअधिकारकर्मी, पत्रकार, सञ्चारकर्मी तथा सम्पूर्ण न्यायका पक्षधरलाई समूहले अपिल गरेको छ ।