सुकुम्बासी बस्तीमा तमासा गरियो, बल प्रयोगबाट समाधान हुँदैन : ओली

हाम्रो सन्देश संवाददाता

१४ मंसिर, काठमाडौं ।

नेकपा एमाले अध्यक्ष ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नदी किनारामा छाप्रो बनाएर बसेका सुकुम्बासी शत्रु नभएको भन्दै त्यसअनुसार बल प्रयोग गर्न गलत भएको बताए ।

‘तपाईंहरुले हिजो देखिहाल्नुभयो, सुकुम्बासी बस्तीको तमासा र उनीहरुलाई हटाउने हाकिमका कुरा सुनी हाल्नुभयो, प्रहरीले, सरकारले सहयोग गरेन, सहयोग गरेको भए हामी उनीहरुलाई पराजित गर्थ्यौ,’ ओलीले भने, ‘त्यो के गरेको, शत्रु देशसँगको लडाइँको जस्तो तरिका, भाषा । त्यहाँ कुन शत्रु बसेका छन् ?’

‘चुप लागेर खोलाको किरानामा बसेको जनतालाई ठीक लगाएर कुन बहादुरी पाइन्छ । कसलाई पराजित गरेर को विजयी हुने ? यहाँ जित र हारको प्रश्न होइन समस्या समाधानको प्रश्न हो,’ उनले भने, ‘लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । तरिका फरक हो । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण तरिकाले समाधानमा पुर्‍याउनु प्रमुख कुरा हो ।’

ओलीले सुकुम्बासीमाथि गरिएको व्यवहार लोकतान्त्रिक आचारणअनुसार नभएको बताए । उनले समस्या गर्न सुकुम्बासी आयोगलाई अघि ल्याउनु पर्ने बताए ।

‘सुकुम्बासी र राज्यको बीचमा हार-जित जस्तो कार्य भयो । सुकुम्बासी हाम्रो दाजुभाइ, दिदीबहिनी हुन् । अलि गरिब भए भन्दै उनीहरुलाई गोद्नु पर्ने, ठोक्नु पर्ने भन्ने कुरा होइन,’ उनले भने, ‘सरकारको उन्माद हो । सरकारको काम लोकतान्त्रिक आचरणअनुसार छैन ।’

सोमबार एकीकृत वाग्मती सभ्यता परियोजनाले थापाथलीस्थित वाग्मती किरानामा बसेको सुकुम्बासीहरुलाई हटाउन खोज्दा झडप भएको थियो । सो क्रममा महानगर प्रहरीका १८ प्रहरी घाइते भएका थिए । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

के भनेका थिए ओलीले ?

नकारात्मक ढंगले देश बन्दैन । हिजो बेलुका टिभीमा तपाईहरुले हेर्नु भयो होला सुकुम्बासी बस्तीमा तमासा । त्यहाँ तमासा गर्ने हाकिमहरुको भनाई–पुलिसले अभि मद्दत नै गरेन नत्र हामी जित्थ्यौं । तिनीहरुलाई पराजित गथ्र्यौं हामी । तिनीहरुलाई पराजित गरेर हामी त्यो बस्तीलाई ध्वस्त बनाउथ्यौं । शुत्र देशसँगको भाषा, शैली । त्यहाँ कुन शत्रु बसेका छन ? गरिव, गुरुवा बसेका छन । ती कुनै शत्रु त होइनन् । सरकारले पूरा मद्दत गरिदिएन ।

पुलिस समयमा आईदिएन । पुलिस समयमा आएको भए ठिक लाईन्थ्यो, सोझ्याईन्थ्यो । के भनेको त्यो ? चुप लागेर खोलाको किनारामा बसेका जनतालाई ठिक लगाएर कुन बहादुर पाईन्छ ? समस्याको समाधान गर्ने तरिका के हो ? के गरिव जनतालाई पराजित गरेर को विजयी हुने । यो जित–हारको प्रश्न होइन । यो समस्या समाधानको प्रश्न हो । बलबाट डेमोक्रेसीमा समस्या समाधान गरिदैन । लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन ।

उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण ढंगले समाधानमा पु¥याउनु पर्दछ । तर, त्यहाँ त सुकुम्बासी र राज्यका बीचमा हारजित जस्तो । आज नराम्रोसँग हार खानु प¥यो । सरकारका सबै अंगले साथ नदिएको हुनाले आज पराजित हुनुप¥यो । राम्ररी साथ दिएको भए हामी जित्थ्यौं । के भनेको त्यो ? हामी उडाई दिन्थ्यौं, भत्काई दिन्थ्यौं । तोडफोड गरिदिन्थ्यौं । तिनीहरुलाई हामी पराजित गरिहाल्थ्यौ नि हामी । तिनीहरुका ढुंगामुडाले के हुन्थ्यो गोली हानेको भए । अर्थ यिनै छन है । शब्द फरक भएपनि । भाव त्यही छ ।

अनि सरकारको आदेश अनुसार तिनीहरुलाई पराजित गरेर खाली गराउन डटेर लागेको छु । एउटा सुःख, सयलम बसेको मान्छेले गरिवका भावना र पीडाहरुलाई बुझ्न कठिन हुन्छ । उन्माद छ । त्यसले देशको समस्या समाधान हुँदैन । त्यो समस्या अर्को रुपमा फेरी बल्झिने छ । त्यसकारण सुकुम्बासी हाम्रा दाजुभाई, दिदीबहिनी हुन । अलि गरिव भए । त्यसो भएर शत्रु घोषणा गरेर तिनीहरुलाई ठोक्नुपर्ने, मानुपर्ने, पराजित गर्नुपर्ने भन्ने कुरा होइन ।

समस्याको समाधान गर्नु पर्छ । सुकुम्बासी समस्या समाधान गर्न आयोग बनाएर तयार भईसकेको बेलामा सरकार तत्काल फेर्नुपर्ने, आयोग भंग गर्नुपर्ने, अनि त्यो सुकुम्बासी समस्या समाधान आयोग चाँही कहाँ गयो नि । सुकुम्बासी समस्या समाधानका लागि आयोग छ । अर्कोतिर डोजर लगाएर सुकुम्बासीलाई पेलेको छ । अनि किन बनाएको आयोग ? डोजर लिएर जाने हो भने आयोग किन बनाएको, उनीहरुलाई तनाखा खुवाएर किन राखेको ? डोजर किने भयो नि १०/२० वटा ।

ड्राईभरलाई तालिम दिएभयो डोजर चलाउन । छाप्रा भत्काउन डोजर । अचम्म त के भने–फुसका छाप्रा भत्काउन डोजर । कुनै पक्की बिल्डिङ भत्काउन हो र डोजर ? छाप्रा भत्काउन । मान्छे पेल्न डोजर । त्यहाँ त छाप्रा छन, मान्छे छन । असक्त र केटाकेटीलाई पराजित गर्न त गएको होला सरकार । यो बेठिक भईराखेको छ । उन्माद सरकारको लोकतान्त्रिक आचरण, संस्कार छैन ।