समानुपातिकतर्फ ८४ लाख मत सकियो, कुन दलले कति पायो ?

हाम्रो सन्देश संवाददाता

११ मंसिर, काठमाडौं ।

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मत गणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार ७५३ मत गणना सम्पन्न गरेको छ ।

मत गणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरणअनुसार मत परिमाणमा नेकपा एमालेले २३ लाख १६ हजार ७३६ मत प्राप्त गरेको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १८ हजार ७४६ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले नौ लाख ६९ हजार ३९६ मत प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख २८ हजार १२४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)ले दुई लाख ८९ हजार आठ सय ६८, नेकपा एकीकृत समाजवादीले दुई लाख २४ हजार १७१ मत प्राप्त गरेका छन् ।

आयोगका अनुसार जनमत पार्टीले दुई लाख २३ हजार ९७९, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९८ हजार ३४, लोकतान्त्रिक समााजवादी पार्टीले एक लाख २० हजार ८४८, नेपाल मजदूर किसान पार्टीले ७० हजार २२, हाम्रो नेपाली पार्टीले ४७ हजार ९७१, राष्ट्रिय जनममोर्चाले ४३ हजार ११६ र मंगोल नेशनल अर्गनाइजेशनले ४३ हजार ९८ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ३७४ मत प्राप्त गरेको छ ।