पूर्वगृहराज्यमन्त्री कँडेललाई गृहको प्रश्न, ‘तपाईं भारतीय हो कि नेपाली ?

हाम्रो सन्देश संवाददाता

१२ असोज, काठमाडौं ।

पूर्वगृहराज्यमन्त्री तथा कांग्रेस नेता देवेन्द्रराज कँडेललाई उनी भारतीय नागरिक भएको/नभएकोबारे वास्तविक जानकारी दिन गृहमन्त्रालयले ताकेता गरेको छ ।

कँडेलविरूद्ध नेपाली नागरिकताको अतिरिक्त भारतीय नागरिकता पनि रहेको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा मन्त्रिपरिषद्को कार्यालयमा परेको थियो ।

सो विषयमा छानविन अगाडि बढाउनका लागि पटक–पटक गृह मन्त्रालयमासमेत पत्राचार भएपछि मन्त्रालयले वास्तविकताबारे मन्त्रालयले उनीसँग चासो राखेको हो ।
सोही उजुरीका आधारमा मन्त्रालयले कँडेललाई आफ्नो प्रतिक्रिया पेश गर्न पत्राचार गरेको छ ।

यस्तो छ उजुरी

कँडेलमाथि भारतीय पान कार्डदेखि मतदाता परिचयपत्र, आधार कार्ड तथा रहादानी रहेको र आफूलाई भारतीय भनी सपथपत्रसमेत पेश गरेको आरोप छ । यी सबै कार्य भारतीय नागरिकता भएमात्रै प्राप्त गर्न सम्भव छन् । गृह मन्त्रालयले कँडेललाई यी सबै विवरण भए/नभएकोबारे प्रमाण खुलाउन पत्राचार गरेको छ । योसँगै उनीमाथि भारतमा भएको निर्वाचनमा उम्मेदवार बनेकोसमेत आरोप छ ।

अर्कोतर्फ कँडेलसँग दुईवटा नेपाली नागरिकता छ भनी उजुरी परेको छ । यसबारे पनि उनलाई आधिकारिकता खुलाउन गृहकोले पत्राचार गरेको छ ।
उजुरीकर्ताले उनले लिएको भारतीय पान कार्डको नम्बरसमेत सम्बन्धित निकायमा पेश गरेका छन् । मन्त्रालयले उनले लिएको भनिएको पान कार्ड र आर्य विद्या प्रचार समितिमा पेश गरेको सपथपत्रहरूको कानूनी वैधानिकताबारे प्रश्न उठाएको छ ।

उजुरीकर्ताका अनुसार उनले भारतीय नागरिकको हैसियतमा DTIPK9995J नम्बरको पान कार्ड लिएका छन् । मन्त्रालयल उनले वहन गरेको या पान कार्डको वैधानिकतामाथि पनि प्रश्न गरेको छ । योसँगै उक्त कागजात कुन हैसियतमा प्राप्त गरेको भन्नेबारे प्रमाण पनि खुलाउन मन्त्रालयको आदेश छ ।

उनीविरूद्ध अख्तियार र मन्त्रिपरिषद्को कार्यालयमा पेश भएको उजुरीका अनुसार कँडेलले भारतको उत्तर प्रदेशमा भएको निर्वाचनमा उम्मेदवारीसमेत दिएका छन्। उनले त्यहाँस्थित आर्य विद्याप्रसार समिति, ठुठीबारीको पदाधिकारीमा निर्वाचित भएपछि फम्र्स सोसाइटिज एवं चिट्स, गोरखपुरमा ३३ कसया रोड बेतियाहा, गोरखपुर ठेगाना देखाइ आफूलाई भारतीय भनी सपथपत्र पेश गरेका छन् ।

योसँगै उनले सन् २०२२ अक्टोबर २ मा समेत सोही ठेगाना देखाएर आफूलाई भारतीय करार गर्दै सपथपत्र पेश गरेको उजुरीमा जनाइएको छ । कँडेललाई मन्त्रालयले यी दुवै विषयको आधिकारिकता खुलाइदिन भनेको छ ।

त्यस्तै, उनको नाम भारतको उत्तर प्रदेशस्थित आर्य विद्या प्रसार समिति, ठुठीबारी महारजगंज प्रबन्ध समितिको निर्वाचनको मतदाता नामवालीमा पनि रहेको जनाइएको छ । कँडेल सो निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएकोबारे यसबारे पनि विवरण खुलाइदिन मन्त्रालयले ताकेता गरेको छ ।

आफूलाई भारतीय करार गर्दै सपथपत्र बुझाउँदै हिँडेका कँडेललाई सरकारले प्रश्न गरेको छ, ‘तपाईं भारतीय नागरिक हो कि होइन ?’ यसबारे सप्रमाण खुलाइदिन मन्त्रालयले कँडेललाई पत्राचार गरेको छ ।