देउवासँग शेखर पक्षले माग्यो ४० प्रतिशत भाग, नदिए वारकी पार !

हाम्रो सन्देश संवाददाता

२८ साउन, काठमाडौं ।

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको मिति तोकेको छ तर सरकारको नेतत्व गरिरहेको दल नेपाली काग्रेस भित्रको आन्तरिक विवाद भने पेचिलो बन्दै गएको छ ।

६ महिना अघि सम्पन्न काग्रेसको १४ औँ महाधिवेशनमा ४० प्रतिशत मत ल्याएको शेखर कोइराला पक्षले अब महाधिवेशनमा प्राप्त गरेको भोटको आधारमा पार्टीमा भागबण्डा खोज्न थालेको छ । काग्रेसमा पहिले देखिनै ४० प्रतिशत भागको चलन रहेको थियो कोइराला पक्षले पनि अब त्यो दाबी गरेको छ ।

४० प्रतिशतको भागबण्डाले नराम्रो सँस्कृती बसेको भन्दै कोइराला समूहलेनै महाधिवेशन लगत्तै अब त्यस्तो नगर्ने घोषणा गरेको थियो तर महाधिवेशनको ६ महिना पछिनै उनीहरु ४० प्रतिशत भागको माग गर्ने ठाउँमा पुगेको छ । कोइराला पक्षका दोस्रो तहका नेताहरुले संगठित रुपमै भाग खोज्ने बैठक राखेका छन् ।

कांग्रेसा नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहका नेताहरूले शनिबार छलफल गरेका छन्।उनीहरूले सभापति देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै राष्ट्रिय भेलाको पूर्वतयारी बमोजिम भेला गरेका हुन्।

काठमाडौंको बत्तीसपुतलीमा कांग्रेस नुवाकोटका पूर्वसभापति तथा युवा नेता जगदीश्वर नरसिंह केसीको संयोजनमा दोस्रो तहका नेता सम्मिलित बैठक बसेको हो। भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, गुरु घिमिरेसहित युवा नेताहरू मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण , सुवास पोख्रेल, डिल्लीराम सुवेदी, गोमा केसी, कुसुम थापासहित ८० जनाको उपस्थिति रहेको बताइएको छ।

भेलामा सहभागी सबैले नेतृत्वले एकलौटी ढंगबाट अघि बढेकोले अब भागबण्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन्।भेलाको संयोजन गरेका नेता केसीले ८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि नेतृत्वले नसमेटेको, राष्ट्रिय सभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रिय समिति सदस्य मनोनियन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि नगरेको गुनासो गरे।

‘न्यायोचित निर्णय गर्नुहुन्न भने ४० प्रतिशत चाहियो,’ केसीले भने, ‘सभापतिले अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि१ अब अस्तित्वको लडाइँ लड्नुपर्ने भयो।’