छायाँकार विदुर पाण्डेको हृदयघातका कारण निधन !

हाम्रो सन्देश संवाददाता

२५ साउन, काठमाडौं ।

छायाँकार विदुर पाण्डेको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ५५ वर्षीय पाण्डेको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो ।

उनको शवलाई श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा ९ बजेदेखि ११ बजेसम्म राखिने चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

उनी ३५ वर्षदेखि चलचित्र क्षेत्रमा निरन्तर काम गर्दै आएका थिए । उनले नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’ को छायांकन गरेका थिए ।

उनले थुप्रै म्युजिक भिडियो, विज्ञापन, फिल्महरूमा काम गरेका छन् । ‘स्वर’, ‘भुइँमान्छे’, ‘मेरो बेस्ट फ्रेन्ड’, ‘पण्डित बाजेको लौरी’, ‘जंग बहादुरको कोट’ लगायत फिल्मका छायांकन गरेका थिए ।

भूषण दाहालले निर्देशन गरेको ‘बस सुन्दरी’, कबवेबका म्युजिक भिडियो खिचेका पाण्डे कान्तिपुर र नागरिक नेटवर्कमा समेत डीओपी(डिरेक्टर अफ फोटोग्राफी) थिए ।

उनलाई विदुरसँगै नवीन नामले पनि चिन्नेहरू थिए ।उनका एक छोरा र श्रीमती रहेका छन् ।