थप ९१२ मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

हाम्रो सन्देश संवाददाता

२० साउन, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा ९१२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोभिड सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा छ हजार चार सय ९१ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार नौ सय ४१ जनाले पिसिआर र तीन हजार पाँच सय ५० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा तीन सय ७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७१ हजार छ सय २० पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ६० रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ७० पुगेको छ । होम आइसोलेशनमा पाँच हजार पाँच सय ८७, संस्थागत आइसोलेसन एक सय ७३, आइसियूमा ४२ र भेन्टिलेटरमा दुई जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कास्की र मोरङ छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, हुम्ला र बाजुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार एक सय ६९, ललितपुरमा सात सय ४५ र भक्तपुरमा ९४ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।