दीपक–दीपालाई आपत, गोप्य भिडियो नै भयो लिक !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

दीपक राज गिरी र दीपाश्री निरौलामाथि पहिलो गाँसमै ढुंगा भएको छ ।छक्कापञ्जाको सिक्वेल निर्माणका क्रममा मुख्य पात्रको लुक्स सहितको भिडियो लोकप्रिय सामाजिक सञ्जाल टिकटकमार्फत बाहिरिएको हो ।

फिल्म ‘छक्कापञ्जा ४’को छायांकन सेटबाट दीपकराज गिरीको लुक्स बाहिरिएको छ । टिकटकमा सार्वजनिक भिडियोमा चारखाल सुधार गृहबाट रिहा भएका राजा पात्रलाई पञ्जैबाजासहित स्वागत गरिएको दृश्य देख्न सकिन्छ ।

फिल्ममा दीपकले राजा पात्रको भूमिकामा अभिनय गरेका छन् । बहिरिएको लुक्समा दीपकलाई लामो कपाल र नीलो सर्ट–पाइन्टमा देख्न सकिन्छ । छायांकार नरेन्द्र मैनालीले फिल्म खिचिरहेका छन् ।

कोरस कलाकारलाई समेत पञ्जैबाजा बजाइरहेको देख्न सकिन्छ । पृष्ठभूमिमा शिशिर बाङ्देलले ‘अनि राजा चाहिँ खोइ त’ भनेर सोधिरहेका छन् भने बेनिशा हमालले ‘ऊ आउँदै हुनुहुन्छ’ भनेर संवाद गरिरहेका छन् ।

यो दृश्यले सुधार गृहमा पुगेको राजा पात्रलाई बाहिर कुरेर बसिरहेका अन्य पात्रको दृश्यको रुपमा देख्न सकिन्छ । यो दृश्यलाई फिल्ममा दीपकको इन्ट्रीको रुपमा हेरिएको छ ।‘छक्कापञ्जा ३’पछि चौंथो श्रृंखलामा दीपक यही दृश्यमार्फत कमब्याक भएका छन् ।

छायांकन सुरु भएको तीन दिनमै मुख्य पात्र समेत रहेका दीपकराज गिरीको लुक्स बाहिरिएको हो । हेमराज विसीको निर्देशनमा फिल्म छायांकन भैरहेको छ । फिल्ममा दीपक, बेनिशा, शिशिर बाङ्देल, केदार घिमिरे, राज आचार्य लगायतका कलाकारको अभिनय छ ।