‘क्लीन चिट’ पाउने बित्तिकै जनार्दन शर्माको अर्को काण्ड बाहिरियो, माओवादी नेताकार्यकर्ता नै बने फायर !

हाम्रो सन्देश संवाददाता

१४ साउन, काठमाडौं ।

बजेट निर्माण क्रममा अवैध व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको आरोपबाट सफाइ पाएलगत्तै जनार्दन शर्माको अर्को काण्ड बाहिरिएको छ ।जनार्दनले राजीनामा दिएको ३८ दिनसम्म पनि उनले मन्त्री क्वार्टर नछोडेको पाइएपछि पार्टीकै नेताकार्यकर्ताले आक्रोश व्यक्त गरेका हुन् ।

संसद्भित्र र बाहिरबाट परेको दबाब थेग्न नसकेर शर्माले गत असार २२ गते राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । शर्माले भने फेरि आफू अर्थमन्त्रीमा फर्किने आशामा मन्त्री क्वार्टर कब्जा गरिरहेको स्रोतको दाबी छ ।

पुल्चोकस्थित मन्त्री क्वाटरभित्र छिर्ने बित्तिकै मन्त्री निवासको नाम लिस्टको तेस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माको नाम रहेको छ । लिस्टमा उनी ‘बाहिर’ भएको उल्लेख गरिएको छ । जबकि मन्त्रीबाट हटिसकेपछि गेटमा नाम रहनु नै आश्चर्यजनक कुरा हो । अर्थमन्त्रीका रूपमा शर्माले ब्लक डी-२ को क्वार्टर पाएका थिए । अहिलेसम्म पनि ब्लक डी–२ मा उनको नेमप्लेट यथावत् छ । नेमप्लेटमा उनी ‘बाहिर’ उल्लेख गरिएको छ ।

स्रोतका अनुसार शर्माले मन्त्री क्वाटरबाट आफ्ना सामानहरू हटाएका छैनन् । परिवार क्वाटरमा नबसे पनि शर्मा भने बारम्बार आउने जाने गर्छन् । मन्त्रीबाट हटेपछि उनको बसाइ भने जाउलाखेलस्थित अर्का मन्त्री उमेश श्रेष्ठको घरमा सरेको छ । मन्त्री हुनुभन्दा पहिले पनि शर्मा यही घरमा बस्दै आएका थिए ।

आज नै शर्मामाथि भएको छानबिनको प्रतिवेदन संसदीय समितिले संसद्मा बुझाएको छ । प्रतिवेदनमा उनीमाथि लागेको आरोप पुष्टि गर्ने प्रमाण नभेटिएको उल्लेख भएको छ । यससँगै शर्मा निकटस्थहरूले उनी फेरि अर्थमन्त्रीमा फर्किने हल्ला चलाइरहेका छन् । अर्थ मन्त्रालयभित्र पनि उनको सम्भावित पुनरागमनबारे चर्चा अर्थमन्त्री भएर आउने चर्चा सुरु भएको एक कर्मचारीले बताए ।

अर्थमन्त्रीबाट शर्माले राजीनामा दिए लगत्तै माओवादीभित्रका उनका प्रतिस्पर्धी वर्षामान पुनले छानबिनबाट निर्दोष प्रमाणित भएमा उनी फेरि अर्थमन्त्री नियुक्त हुने बताएका थिए । माओवादीले अर्को व्यक्ति अर्थमन्त्रीमा सिफारिस नगर्नुभित्र पनि यही आशय लुकेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि आफ्ना केही निजी चासोहरू सम्बोधन गरिदिएकाले शर्माप्रति अनुग्रहित छन् । त्यसैले फेरि शर्मालाई अर्थमन्त्री नियुक्त गरिए आश्चर्य नहुने स्रोतहरू बताउँछन् ।

मन्त्रीहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०४९ मा मन्त्रीहरुले आफ्नो कार्यकाल सकिएको वा मन्त्रीबाट हटेको मितिले सात दिनसम्म सरकारी निवास प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । जनार्दन शर्माले भने ३८ दिनसम्म क्वाटर छाडेका छैनन् ।