मलेसियामा कोरोना संक्रमितको संख्या दैनिक वृद्दि, २४ घण्टामा नौ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

८ साउन, क्वालालम्पुर ।

शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ४८ हजार नौ सय ३१ पुगेको छ भने ३५ हजार नौ सय ११ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, न्युजिल्याण्डमा पाँच हजार पाँच सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको तथा हालसम्म एक हजार नौ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ । (रासस/सिन्ह्वा)

कोलकातामा भानुभक्त जन्मजयन्ती मनाइयो
कोलकातामा बसोबास गर्ने नेपाली समुदायले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती मनाएका छन् । नेपाली जनकल्याण समिति (हावडा)को आयोजनामा आज आयोजित कार्यक्रममा सहभागी वक्ताले संस्कृत भाषालाई नेपाली भाषामा आदिकविले अनुवाद गरी नेपाली भाषाको विकास गर्न योगदान पु¥याएको चर्चा गर्नुभयो ।

पश्चिम बङ्गालका समन्वयमन्त्री अरुप रायले कोलकाताको नजिकै रहेका हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई आदिकवि भानुभक्तको नामबाट नामकरण गर्ने घोषणा गर्दै आदिकविको मूर्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समितिका अध्यक्ष बद्रीविक्रम थापाले विगत २५ वर्षदेखि आदिकविको स्मरणमा जन्मजयन्ती गर्दै आएको बताउँदै उहाँको सम्झनामा बिहानी पत्रिका २३ वर्षदेखि प्रकाशन गरिएको जानकारी दिनुभयो ।

संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घको उपसभापति नरविक्रम थापाले नेपाली भाषा, साहित्य र संस्कृतिलाई संरक्षण गर्न आफू क्रियाशील रहेको बताउनुभयो । आयोजक संस्थाका सल्लाहकार तथा वरिष्ठ पत्रकार धर्मराज बरालले विश्वभरका नेपालीलाई एकताबद्ध गरी जोड्ने काम आदिकविले गरेको चर्चा गर्दै उहाँको योगदानलाई अन्तर्राष्ट्रिय तहमा प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मन्त्री रायले बिहानी पत्रिका विमोचन गर्नुभएको थियो भने सोही कार्यक्रममा विद्यार्थी आशा उपाध्याय बरालले आदिकविको सम्झनामा कवितावाचन गर्नुभएको थियो ।