अब फिल्म खेल्दिनँ भनेर कसम खाएका अभिनेता प्रदीप खड्का कसरि फर्किए फिल्ममा ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

‘प्रेम गीत’ फिल्मबाट चर्चामा आएका अभिनेता प्रदीप खड्काले पहिलो फिल्मपछि अब ‘फिल्म खेल्दिनँ’ भनेर कसम नै खाएका थिए। धेरैले उनलाई ‘प्रेम गीत’बाट चिने पनि उनको पहिलो फिल्म भने ‘एस्केप’ हो। जसमा अभिनय मात्र नभएर कथा, पटकथा पनि उनकै थियो।

यतिवेला प्रदीप प्रदर्शनको तयारीमा रहेको आफ्नो फिल्म ‘प्रकाश’को प्रचारप्रसारमा छन्। यसै क्रममा सिसन बानियाको प्याराडाइम पडकास्टमा पाहुना बन्न गएका उनले आफ्नो फिल्मी यात्राको बारेमा विस्तृतमा बताएका छन्।

उनका अनुसार कक्षा ८ मा पढ्दा एउटा टेलिभिजनमा देखिएका कारण मान्छेहरूले चिन्न थालेपछि उनलाई चर्चित हुने रहर पलाएको हो। धेरै मान्छेले चिनुन् भन्ने आशले आफूले क्रमशः गिटार बजाउन,

टेलिभिजन कार्यक्रम सञ्चालन गर्न, म्युजिक भिडियो खेल्न, र्‍याम्प वाक गर्नसमेत कोसिस गरेको उनले बताएका छन्। तर आफूले बनाउन खोजेको परिचय कुनै क्षेत्रले पनि नदिएपछि फिल्मतर्फ ध्यान केन्द्रित भएको उनको भनाइ छ।

‘त्यो सबै कुराबाट पनि मैले खोजेको आइडेन्टिटी पाइराखेको थिइनँ। त्यसपछि फिल्मको मान्छेले चाहिँ सबैभन्दा बढी पपुलारिटी पाउँदो रहेछ भने जस्तो फिल भयो‚’ फिल्ममा काम गर्नुपर्छ भन्ने भए पनि त्यति वेला अभिनेता बन्ने सोच भने नपलाएको बताउँदै उनी भन्छन्,

‘फिल्ममा निर्देशक, स्क्रिप्ट राइटर छुट्टाछुट्टै हुन्छन् भन्ने पनि थाहा थिएन। २०/२१ वर्षको उमेरमा फिल्म बनाइयो। आफूलाई मन परेको फिल्महरूबाट थोरै थोरै कथा लिएर, आफैँले लेखेर, आफैँले निर्माण गरेर आफैँ खेलेँ। त्यो म फिल्ममा काम गर्छु है भनेर देखाउनका लागि मात्र थियो।’

फिल्म बनेर जसोतसो प्रदर्शनमा आए पनि फिल्मले पोस्टरको समेत पैसा नउठाएको प्रदीप बताउँछन्। पुराना दिन सम्झिँदै उनी भन्छन्, ‘हलबाट उत्रिनुअघिको अन्तिम शो हेरेर अब गर्दिनँ भनेर त्यो च्याप्टर क्लोज गरिदिएँ। घरबाट पनि प्रेसर आउन थालेको थियो। मलाई पनि फिल्म नचलेपछि यो क्षेत्रबाट पुग्यो भन्ने भइसकेको थियो।’

‘बीचमा एउटा यस्तो अवस्थासम्म आइसकेको थियो कि मैले अप्लाइ गर्न कुन देश बाँकी छ भनेर हेर्नुपर्ने अवस्था थियो‚’ उनी भन्छन्, ‘अमेरिका २/३ पटक रिजेक्ट, डेनमार्क, क्यानडा, फ्रान्स, जान मिल्ने ठाउँ जति सबै ट्राई गरिराथेँ। मेरो लास्ट अप्सन दुवैतिर जान्छु हाउसकिपिङ गर्छु भन्नेसम्म आइसकेको थियो।’

‘म एस्केप बनाउने वेलामा डेढ वर्ष जुन स्टुडियोमा बसेको थिएँ, त्यहाँ धेरै मान्छेले वाच चाहिँ गरेको रहेछ। त्यहीँ सुदर्शन दाइ, सन्तोष दाइ, डिओपी राजेश दाइ प्रेम गीतको टिमले पनि मलाई नोटिस चाहिँ गर्नुभएको रहेछ। उहाँहरू मलाई फोन गर्नुहुँदो रहेछ। म फ्रस्टेट भएर सबैको फोन रिजेक्ट गरिराथेँ।’

कुनै सम्पर्क हुन नसकेपछि प्रेम गीत निर्माण टोलीले मुख्य पात्रको लागि अडिसनको घोषणा गरेको र त्यति वेला आफू विदेश जानकै लागि दौडधुप गरिराखेको प्रदीप बताउँछन्। त्यही वर्ष भूकम्प गएपछि प्रेम गीतको अडिसन र प्रदीपको विदेश जाने प्लान दुवै रोकिएको उनी बताउँछन्।

उनी भन्छन्, ‘भूकम्पपछि पनि म सम्पर्कमा नआएपछि उहाँहरूले अडिसन फेरि अनाउन्स गर्नुभयो। मैले पनि टाइम पासको लागि भनेर अप्लाइ गरिदिएँ। फोटोहरू पठाएँ। सेलेक्ट हुन्छु भन्ने चाहिँ जिरो पर्सेन्ट लागेको थियो।’

त्यसपछि प्रदीपको फिल्मप्रति लगाव देखेर र एक पटक फिल्मको लागि क्यामेरा फेस पनि गरिसकेको भएर उनलाई नै लिइएको प्रदीप बताउँछन्।

उनी भन्छन्, ‘शुरुमै आफूलाई खोजिएको फिल्ममा पछि अडिसनबाट जोडिन पुगेँ। तर फिल्म खेलिसक्दा पनि फिल्म चल्नेमा भने मलाई शंका नै थियो। फिल्म रिलिज हुन्छ, अनि म विदेश जान्छु भन्ने सोच नै थियो त्यसैले फिल्मको गीत रिलिज भएपछि आएका फिल्म साइन पनि गरिनँ।’

तर पछि फिल्म नै सफल भइसकेपछि दर्शकले मन पराएपछि फिल्म क्षेत्र नै आफ्नो लागि ठिक हो भन्ने महशुश भएको प्रदीप बताउँछन्। ‘प्रेम गीत’ पछि उनले ‘प्रेम गीत २’, ‘रोज’,

‘लव स्टेसन’ जस्ता फिल्ममा अभिनय गरे। उनी नेपालका सर्वाधिक मन पराइएका अभिनेतामध्येमा गनिन्छन्।उनका बहुप्रतिक्षित दुई फिल्म ‘प्रकाश’ र ‘प्रेम गीत ३’ प्रदर्शनको तयारीमा छन्।